राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षको सुरुआत भएको यस अवसरमा हामीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताइन् ।
हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने सन्देशमार्फत भनिएको छ ।
ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सिर्जना गर्ने नीति कार्यान्वयन गर्न ढिलाइ गरिन नहुने उनको भनाइ छ । जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोहीअनुसारका नीति अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गरिन् ।
Century Times
