अहिले नेपालका चार प्रदेशमा मनसुनी प्रणालीको प्रभाव छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा मनसुनी प्रणालीको प्रभाव विस्तार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसैगरी लुम्बिनी प्रदेशका पूर्वी भूभागमा पनि मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ।
यतिबेला (शुक्रबार बिहान) कोसी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
अहिले गण्डकी प्रदेशका थोरै तथा कोसी, मधेस र बागमती प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका सबै र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ। कोसी, बाग्मती र गण्डकी प्रदेशका केही, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्ण बदली, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ।
गण्डकी प्रदेशका केही स्थानमा, कोसी, मधेस, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी भूभागका एकदुई स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।
Century Times
