प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा धनुषा निर्वाचन क्षेत्र नम्बर–३ को राजनीतिक माहोल थप तातिएको छ ।
मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकपुरधाममा आयोजना गरेको पार्टी प्रवेश तथा युवा प्रदर्शन कार्यक्रममार्फत सयौँ युवाले पार्टीमा आबद्धता जनाएका छन् ।
रास्वपाका उम्मेदवार तथा पार्टी प्रवक्ता मनिष झाको उपस्थितिमा भएको कार्यक्रममा करिब तीन सयभन्दा बढी युवाले औपचारिक रूपमा पार्टी प्रवेश गरेका छन् ।
कार्यक्रमको सहजीकरण रास्वपा धनुषाका युवा नेता किशन साहले गरेका थिए ।
पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमाले परित्याग गरेका सरोज यादव र सतिश सिंह प्रमुख रूपमा रहेका छन् । साथै युवा अगुवा आशुतोष साह (छोटु) र जावेद हुसेनले समेत रास्वपामा आबद्धता जनाएका छन् । साहको नेतृत्वमा १२५ जना युवाहरुले रास्वपा प्रवेश गरेका छन् ।
महिला नेतृत्वतर्फ विभिन्न मधेश केन्द्रित दलमा सक्रिय रहेकी तथा पछिल्लो समय जसपा त्यागेकी विन्दु ठाकुर पनि कार्यक्रममा सहभागी भई पार्टी प्रवेश गरेकी छन् ।
रेल्वे स्टेसनबाट सुरु भएको युवाहरूको मार्चपाससहितको प्रदर्शन नगरका विभिन्न भाग परिक्रमा गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघको सभा हलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा उम्मेदवार झासँगै उनका चुनावी कमान्डर जितेन्द्र महासेठ, अम्भुप्रसाद साह तथा हालै रास्वपा प्रवेश गरेका डा. राजीव झा लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
सभा हलमा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै वक्ताहरूले धनुषा–३ मा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औंल्याएका थिए ।
उनीहरूले युवाको सहभागिताले निर्वाचन परिणाममा सकारात्मक प्रभाव पार्ने दाबी समेत गरे ।
निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषा–३ मा विभिन्न दलबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको देखिन्छ ।
Century Times
