यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन अगाडि नै नेपाल भित्रिएको छ ।
नेपालमा सरदर जुन १३ मा मनसुन प्रवेश गर्ने भए पनि यसपालि तीन दिन छिटो आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भेगबाट प्रवेश गरेको मनसुन बिस्तारै अन्य भू–भागतिर अगाडि बढ्ने छ ।
गएको वर्ष एक दिन ढिला गरेर मनसुन नेपाल प्रवेश गरेको थियो । नेपालमा औसतमा जुन १३ मा शुरु भएर अक्टोबर २ सम्म सरदर एक सय १२ दिन मनसुन रहन्छ ।
मनसुन भनेको हावा वहने दिशा परिवर्तन हुनु हो । मनसुन सामान्यतया एशिया र दक्षिणपूर्वी एशियामा सम्बन्धित छ । भारतीय उपमहाद्वीपमा हुने उच्च तापमानले बङ्गालको खाडीबाट मनसुनी हावा आउने गर्छ । हिन्द महासागरको पानी वाफ बनेर हावामा मिसिन्छ । वाफसहितको हावा भारत, नेपाल, श्रीलङ्का र बङ्गलादेशलगायतका देशतर्फ वहन्छ । तातो हावा चिसिएपछि पानी पार्छ । हिउँदयाममा फेरि हावाको दिशा परिवर्तन हुन्छ र मनसुन हिन्द महासागरतर्फ जान्छ ।
जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म बढी पानी पर्ने अनुमान गरेकाे छ ।
Century Times
