चैत २४ गते। निर्वाचन आयोगले ७१ निर्वाचन आयुक्तलाई हटाएर नयाँ नियुक्त गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७१ जना निर्वाचन अधिकृले विभिन्न कारण देखाएर काम गर्न नसक्ने निवेदन दिएपछि उहाँहरुलाई हटाएर नयाँ आयुक्तलाई नियुक्त गरिएको जानकारी दिनुभयो।
‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगको निर्णय बमोजिम यसअघि तोकिएका निर्वाचन अधिकृतमध्ये चैत २३ गते निर्णयअनुसार ७१ जना निर्वाचन अधिकृतलाई विभिन्न कारणले जिम्मेवारी बहन गर्न नसक्ने भएको हुनाले हटाएर ७१ जनालाई नयाँ नियुक्त गरिएको हो,’ उहाँले भन्नुभयो, ‘नयाँ ७१ जनालाई यसअघि आएका नामबाट छनोट गरिएको हो।’
उहाँका अनुसार अब सबै तहमा निर्वाचन अधिकृत पदपूर्ति भएको हो। यसैगरी, निर्वाचन आचारसंहितामा सबै राजनीतिक दलले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको पनि उहाँले जानकारी दिनुभयो।
नेकपा (एमाले)ले केहीँ विषयमा अस्पष्टता जनाउँदै पत्र बुझाएको जानकारी दिनुहुँदै सहायक प्रवक्ता अर्यालले भन्नुभयो, ‘एमालेले आचारसंहितामा केहीँ स्पष्ट हुने विषय छ भन्ने कुरा लिखित रुपमा आयोगमा पेश गरेको छ। यस विषयमा स्पष्ट भइसकेपछि उहाँहरुले हस्ताक्षर गर्नुहुनेछ।’
Century Times
