काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले राष्ट्रियसभामा दर्ता गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । उनले कांग्रेसलाई सडक र सत्तामा हुँदा फरक–फरक बोल्ने छुट नहुने बताए ।

‘हामीले हिजोमात्रै हाम्रो प्रधानमन्त्रीजीलार्ई भेटेर भन्यौँ कि कांग्रेसलाई सडक र सत्तामा हुँदा फरक फरक बोल्ने छुट छैन, अहिले संवैधानिक परिषद् सम्बन्धी जुन विधेयक राष्ट्रियसभामा दर्ता भएको छ, त्यो तुरुन्तै फिर्ता होस्,’ सोमबार विहान ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘उहाँले त्यसलाई तत्कालै फिर्ता लिन्छु भन्नुभएको छ ।’
सरकारले हालै राष्ट्रिय सभामा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ दर्ता गराएको समाचार आएपछि संविधान विपरीत भन्दै त्यसको चौतर्फी विरोध भइरहेको छ ।
विधेयकमा संवैधानिक परिषद्को गणपूरक संख्यादेखि निर्णय प्रक्रियासम्मका बारेमा विद्यमान कानुनी व्यवस्था संशोधन गर्ने सरकारको प्रयास छ ।
महामन्त्री थापाले अघिल्लो सरकारले त्यस्तै काम गर्दा प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलको नेताकोरुपमा आफैँले त्यस्तो विधेयकको विरोध गरेको भन्दै अहिले आफू सत्तामा हुँदा त्यस्तो काम गर्न नमिल्ने बताए ।
‘हामीलाई गल्ती गर्ने छुट छैन । संविधानको विपरीतका कुनै पनि काम गर्न हामीलाई छुट छैन, गर्न मिल्दैन, गर्न दिइदैन,’ उनले भने, ‘हिजो अरुले गर्दा गलत भयो भनेर भनेको हामीलाई अहिले त्यही गल्ती दोहो¥याउने सुविधा छैन, बरु अझै बढी नैतिक जिम्मेवारी लिनुपर्छ ।’
Century Times
