गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न जिम्मा लिएका (सुपारी लिएका) सुटर चन्चल पाण्डेलाई पक्राउ गरिएको छ ।
यर साहको हत्या गर्न भारतको कुख्यात अपराधीलाई सुपारी दिइएको अनुसन्धानबाट खुलेपछि सुपारी लिने सुटर पाण्डेलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको छ ।
बाराको कलैयामा रहेको बाल एकता इङ्गलिस बोर्डिङ्ग स्कूलका संचालक तथा प्रिन्सिपल रुपेश सर्राफ हत्या प्रकरणमा पक्राउ परेका भारतीय सुटर सुजीत सिंहले दिएको बयानमा गौरका मेयर साहको हत्या गर्न पाण्डेले सुपारी लिएको खुलासा भएको थियो । भारतीय सुटर सुजीत सिहलाई भारतीय प्रहरीको सहयोगमा कलकत्ताबाट पक्राउ गरी नेपाल प्रहरीले ल्याएका थिए ।
रुपेश हत्याकाण्डमा मनोज गुप्ता, अरुण यादव र सुजीत सिंह लगायतका अपराधीहरू पहिले नै पक्राउ परिसकेका छन् । हत्याको मुख्य अभियुक्त पाण्डे नेपाल प्रहरीको मुख्य खोजी सूचीमा रहेका थिए । मेयर साहको हत्याको योजनाका खुलासा भए पनि पाण्डेलाई ल्याउन प्रहरीको विशेष टोली भारतमा परिचालन गरेको थियो ।
भारतीय प्रहरीको सहयोगमा पाण्डेलाई भारतको मध्य प्रदेशका उज्जैन स्थित महाकाल मन्दिरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । रुपेश हत्याकाण्डमा पक्राउ परेका सिंहले मेयर साहको हत्या गर्न ३६ लाखमा ‘डिल’ भएको र पाण्डेले आधा रकम लिइसकेको खुलासा गरेका थिए ।
रुपेश हत्याकाण्डमा पक्राउ परेका सिंह प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका पाण्डे भारतको उज्जैनमा लुकेर बसेको जानकारी पछि नेपाल र भारतीय प्रहरीले संयुक्त अपरेसन थालेका थिए । संयुक्त अपरेसनमा पक्राउ परेका पाण्डेलाई नेपाल ल्याएर अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएका छन् ।
Century Times
