भारतीय राज्य गुजरातमा अविरल वर्षाका कारण धेरै क्षेत्र जलमग्न र बाढीमय भएका छन्।
बीबीसी हिन्दीका अनुसार सौराष्ट्र र मध्य गुजरातमा धेरै गाउँ तथा सहर डुबानमा परेका छन्। बाढीबाट वडोदरा सहर सबैभन्दा बढी प्रभावित भएको छ। यहाँ धेरै ठाउँमा पानी जमेको छ, अवस्था नाजुक छ।
प्रदेश सरकारले बुधबार राहत र उद्धारका लागि सेना बोलाएको जनाएको छ। स्वास्थ्यमन्त्री तथा सरकारका प्रवक्ता रुषिकेश पटेलले केही क्षेत्रमा १० देखि १२ फिटसम्म पानी जमेको बताएका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार गुजरातमा भारी वर्षा र बाढीका कारण २८ जनाको ज्यान गइसकेको छ भने झन्डै ४० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार गुजरातमा भारी वर्षाका कारण दुई दिनभित्र १६ जनाको मृत्यु भएको छ।
गुजरातको सौराष्ट्रमा विशेषगरी द्वारका, जामनगर, पोरबन्दर, मोरबी, जुनागढ र राजकोट जिल्लामा जनजीवन अस्तव्यस्त भएको छ। अविरल वर्षाका कारण नदीमा पानीको बहाव निकै बढेको छ।
Century Times
