काठमाण्डौ | नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल प्यानलको उम्मेदवारी घोषणा गरिएको छ । आज (मंगलबार) एक कार्यक्रमको आयोजना गरि ढकालले आफ्नो प्यानलको उम्मेदवारी घोषणा गरेका हुन् ।
‘समृद्विको आधार राज्य–निजी क्षेत्र साझेदार’ भन्ने मुल नाराका साथ महासंघको आगामी साउन २६ र २७ गते हुने ५४औँ वार्षिक साधारण सभामा ढकालको प्यानलबाट जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी घोषणा गरेका हुन् ।
आफ्नो प्यानलको घोषण गर्दै ढकालले महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रूपमा चार महिनाअघि नै औपचारिक घोषणा गरिसकेको बताए ।
‘तर मेरो उम्मेदवारी मात्रै त्यसको पूर्णता होइन, त्यसलाई अघि बढाउन एउटा विश्वासिलो टिमको जरुरत पर्दछ। हाम्रो टिममा उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षका लागि गुणनिधि तिवारी, वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एसोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघई उम्मेदवार हुनुहुनेछ,’उनले भने, ‘महासंघमा नयाँ नेतृत्वका रुपमा आउने हाम्रो यो टीमले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त गर्ने छैन,हामीले चाहेको,हामीले खोजेको आर्थिक रुपमा समुन्नत नेपाल प्राप्त गर्न पनि काम गर्नेछ ।’
ढकालले आफ्नो टीम अनुभवले भरिएको पनि बताए । ‘विश्वासले भरिएको छ । टीममा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर यो टीमको गाउँ जिल्लादेखि नीतिगत तहसम्म पहुँच छ,’ उनले भने, ‘तपाईंलाई दुःख परेको बेला हाम्रो टीम तपाईंको नजिक हुनेछ, तपाईंले खोजेको बेला पहुँचमा रहनेछ,समस्यालाई नीति निर्मता कहाँ पुर्याइदिएर समाधान खोजिदिनेछ ।’
Photo Credit: Aarthik Abhiyan
Century Times
