काठमाडौं । सरकारले ३० हजार टन चिनी आयात गर्न अनुमति दिएको छ ।
साउन १२ गते बसेको मन्त्रिपरिषद् वैठकले ५० प्रतिशत भन्सार छुटमा ल्याउन दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले निर्णयबारे जानकारी गराएका हुन् ।
अब साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी आयात गर्नेछ । चिनीको भण्डारण रित्तिँदै गर्दा आयात हुने भएपछि बजारमा चिनीको मूल्य नआकासिने भएको छ । सरकारी कम्पनी साल्ट ट्रेडिङले नेपालमा हुने उत्पादनले अपुग चिनी हरेक वर्ष आयात गर्दै आएको छ ।
चिनीको भण्डारण सकिन लागेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थको सहमतिमा चिनी किन्ने प्रस्ताव मन्त्रिपरिषदमा पुर्याएको थियो ।
नेपालमा वार्षिक साढे २ लाख मेट्रिक टन चिनीको माग हुने गरेको छ । त्यसमध्ये करिब आधा चिनी स्वदेशमा उत्पादन हुन्छ । यसअघि साल्ट ट्रेडिङ कर्पोरेसनले ५० हजार टन चिनी आयात अनुमतिका लागि वाणिज्य मन्त्रालयमा निवेदन दिएको थियो ।
मन्त्रिपरिषद्ले ३० हजार मेट्रिक टन आयात गर्ने निर्णय गरेपछि कर्पोरेसनले द्रुतमार्गको आयात प्रक्रिया थाल्नेछ ।
Source:baahrakhari
Century Times
