
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बिमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बिमा गर्ने भएको हो ।
कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढिरहेको हुँदा खेलाडीको सुरक्षाका लागि राष्ट्रिय टोलीका पुरुष खेलाडीको कोरोना बिमा गरिने भएको हो । खेलाडीहरूको कोरोना बिमा केही दिनमै हुने क्यानका सचिव अशोकनाथ प्याकुरेलले बाह्रखरीलाई बताए । उनले राष्ट्रिय टिमका लागि बन्द प्रशिक्षणमा बोलाइने पुरुष खेलाडीको कोरोना बिमा गरिने बताए ।
“हामीले पहिले नै खेलाडीको कोरोना बिमा गर्ने सोच बनाएका थियौं । भदौ १ गतेदेखि हुने प्रशिक्षण बन्द भएका कारण स्थगित गरेका थियौं । कोरोना संक्रमण बढिरहेको अवस्थालाई मध्यनजर गर्दै बिमा गर्ने भएका हौं,” सचिव प्याकुरेलले बाह्रखरीलाई भने ।
उनले थपे, “२२ खेलाडीसँगै, १४ जना मैदानका कर्मचारी, केही अफिसका कर्मचारीको बिमा गर्ने प्रक्रियाअघि बढाएका छौं । केही दिनमै बिमा गरिसक्ने छौं ।” कोरोनाको संक्रमण बढेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सम्पूर्ण खेल गतिविधि अनिश्चितकालका लागि स्थगित गरिसकेको छ ।
Source:baahrakhari