Century Times

सभापतिमा निधिको उम्मेदवारीले हुनसक्छ समीकरणमा उथलपुथल

सभापतिमा निधिको उम्मेदवारीले हुनसक्छ समीकरणमा उथलपुथल
NC Vice-president Bimalendra Nidhi condemns tonsuring of a Nepali

काठमाडाैं-व्यवस्था परिवर्तनको आन्दोलन र निर्वाचनका समयमा मधेसी मूलका केही परिवारले कांग्रेसलाई इतिहासदेखि ऊर्जा थपिरहेका थिए। स्थापनाकालदेखि वर्तमानसम्म मधेसी समुदायको परिवारबाट ‘अविचलित’ कांग्रेसलाई साथ दिने निधि परिवार देखिएको छ। अन्य परिवार इतिहासकै ‘गर्भ’मा हराए। राणा शासनविरुद्ध भारतमा ‘बैरगनिया सम्मेलन’ गर्ने अगुवा महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधि कांग्रेसको मूल नेतृत्वमा आउने प्रयासमा छन्।

समीकरणमा ‘उथलपुथल’
विमलेन्द्र निधिले अबको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नका लागि तयारी सुरु गरेका छन्। उनी आफ्नो तयारीमा अघि बढ्दै गए भने कांग्रेसको अहिलेको शक्ति संरचनाका साथै महाधिवेशन लक्षित समीकरणमा पनि उथलपुथल आउने आँकलन गर्न थालिएको छ।

महाधिवेशनलक्षित गरेर कांग्रेसमा मुख्यगरी तीन समूह सक्रिय छन्। तर निधिको उम्मेदवारीले सबैभन्दा ठूलो धक्काचाहिँ सभापति शेरबहादुर देउवालाई नै दिन्छ।

संस्थापनबाट सभापतिमा पुनः दोहोरिने चाहना छ, देउवाको। निधि सोही समूहका हुन्। उनी पनि अघि सरेपछि समीकरणमा फेरबदल हुनसक्ने कांग्रेस नेताहरुकै विश्लेषण छ। निधिको उम्मेदवारीको दाबी हचुवाको भरमा नआएको बताउँछन्, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल। ‘सभापतिको उम्मेदवारी दिने कुरालाई चर्चाका लागि कुरा गर्नुभयो भन्ने लाग्दैन। दाबीका रुपमा मात्रै मैले लिन्नँ। उहाँको उम्मेदवारीले महाधिवेशनमा प्रभाव छोड्छ’, उनले भने।

निधिको सन्दर्भमा देउवाले के गर्लान् भन्ने अहिले पार्टीभित्र र बाहिर पनि चासोसाथ हेरिएकाे छ। उनी निकट नेताहरुका अनुसार, देउवाले निधिलाई मनाउन हरसम्भव प्रयास गर्नेछन्। उनका लागि महाधिवेशनपछि र आम निर्वाचनपछि पार्टी र संसदमा रोजेको पदमा सघाउने वाचा देउवाको रहनेछ। यद्यपि, देउवाको ‘भुलभुलैया’मा यसपटक निधि बहकिने सम्भावना भने कम देखिन्छ। आफू सभापतिका उम्मेदवार हुनका लागि उनले जुन आधारहरु बताउने गरेका छन्, त्यो तर्क र यथार्थले पूर्ण छ।

देउवाले आफूमाथि आइपरेको संकटलाई पत्नि आरजु राणालाई अघि बढाउने अवसरको रुपमा उपयोग गर्न सक्छन्।

आफू नै उम्मेदवार हुने विषयमा देउवाका लागि निधि अवरोध भएमा उनले विकल्प खोज्ने सम्भावना रहन्छ। तर, विकल्पमा निधिलाई नै सघाउने सम्भावना भने कम छ। बरु, देउवाले आफूमाथि आइपरेको संकटलाई पत्नि आरजु राणालाई अघि बढाउने अवसरको रुपमा उपयोग गर्न सक्छन्। राणालाई महामन्त्री बनाउने गरी सभापतिमा शशांक कोइरालालाई सघाउने गरी नयाँ समीकरणको सम्भावना देख्छन्, कतिपय नेताहरु।

‘निधिको उम्मेदवारीले शेरबहादुर देउवाजी महाधिवेशन नलड्ने परिस्थिति निर्माण हुन पनि सक्छ। शेरबहादुर देउवा नलड्ने परिस्थिति आयो भने महाधिवेशनको समय ठूलो परिवर्तन ल्याउँछ’, रिजालको आँकलन छ।

संस्थापन समूहबाट निधिले ‘विद्रोह’ गरे भने त्यसले निधि र कांग्रेस दुवैको हित हुने संस्थापनइतरका धेरै नेताको बुझाइ छ। ‘विमलेन्द्र निधिले संस्थापन समूहमा विद्रोह गरे भने पुरानो समीकरण पुरै भत्किन्छ। विद्रोह गरेनन् भने केही उथलपुथल हुँदैन’, संस्थापन इतरका एक नेताले भने।

देउवा समूहबाट निधि बाहिरिए भने कांग्रेसमा जब्बर भएर रहेको एउटा गुटको आधार पनि भत्किन्छ। किनकि, देउवा र निधिको गुटमा झन्डै दुई दशकदेखिको निरन्तरता छ। देउवाले पार्टी विभाजन गर्दासमेत निधिले साथ दिएका थिए। गत महाधिवेशनमा पनि निधिले ‘बरु मलाई पर्दैन, देउवालाई मत दिनुस्’ भनेर सक्रिय भए।

निधि नै अघि बढे भने देउवाले आफ्नो समूहको सभापतिको उम्मेदवारका रुपमा नस्वीकार्ने केहीको बुझाइ छ। देउवापक्षीय अन्य नेताले निधिलाई सभापतिको प्रत्यासी देख्न नचाहेको अवस्थामा उनको बाटो सहज देखिँदैन। निधिलाई अस्वीकार गर्दैगर्दा देउवाले खोज्ने विकल्पमा  शशांक उपयुक्त पात्र हुने आँकलन कतिपयको छ।

देउवाको समर्थनमा शशांकको एक समूह बन्नेछ। निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको अर्को समूह बन्नेछ।

निधि सभापतिको प्रत्यासी हुँदा चार टिम देखापर्ने संस्थापन इतरका एक नेताले भविष्यवाणी गरे। उनका अनुसार देउवाको समर्थनमा शशांकको एक समूह बन्नेछ। निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको अर्को समूह बन्नेछ। यी तीन शीर्ष नेताको कथं टिम बन्न सकेन भने वरिष्ठ नेता रामचन्द्र पौडेल र सिंहको एक टीम बन्नेछ। कुनै समूहमा नपरे पनि डा शेखर कोइराला सभापतिको प्रत्यासीबाट पछि नहट्ने उनको बुझाइ छ।

नयाँ समीकरण निधिको पहलकदमीमा निर्भर हुने हुँदा संस्थापन इतर समूह निधिको भावी कदमको पर्खाइमा छ।
 
मूल नेतृत्वको मधेसी आकांक्षा 
धनुषामा महेन्द्रनारायण निधि, महोत्तरीमा रामनारायण मिश्र, सप्तरीमा रामेश्वरप्रसाद  सिंह लगायतको परिवारले कांग्रेस राजनीतिमा ऐतिहासिक भूमिका खेलेका थिए।

कांग्रेसको राजनीतिमा मधेसी मूलबाट सभापतिको पदमा कुनै व्यक्ति पुगेका छैनन्। १४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी हुने प्रयासमा रहेका विमलेन्द्र निधिका बाबु महेन्द्रनारायण निधि पार्टीको महामन्त्री भएका थिए। महामन्त्रीहरूमा संस्थापक निधिसहित परशुनारायण चौधरी, डा रामवरण यादव र विमलेन्द्र निधिसमेत भए। कांग्रेस विभाजनका समय प्रजातान्त्रिक कांग्रेसबाट निधि महामन्त्री बनेका थिए।

महन्थ ठाकुर, चित्रलेखा यादव र सीतादेवी यादव कोषाध्यक्ष बने। राष्ट्रकै उच्च तहमा डा यादव पुगे पनि हालसम्म मधेसी मूलबाट कांग्रेसको नेतृत्वमा पुग्ने निधि हुन्। उनकै बुबा महेन्द्रनारायण निधि सरकारी पद उपसभामुखमा पुगेका थिए। मधेसबाट कांग्रेसको राजनीतिमा उपसभापतिमा पदमा पुगेका निधि १४ औं महाधिवेशनबाट सभापति हुने लाइनमा छन्।

२०६२/६३ सालको प्रारम्भमा जतिबेला कांग्रेसको नेतृत्व तहमा मधेसका नेताहरुको बाहुल्य हुनुपर्थ्यो। त्यतिबेला ऊ मधेसका विषयमा प्रष्ट हुनसकेन। नेता पनि जोगाउन सकेन।

सुरुवातमा बिपीको ओज रहेको कांग्रेसमा उनले आफू वरिपरि मधेसका धेरै नेतालाई उदाउने मौका दिएका थिए। तर, लामो पञ्चायतीकालमा उनी सकसपूर्ण अवस्थामा रहे। पार्टी गतिविधि सबै खुम्चिएको अवस्थामा नेताहरुको उदय र उत्थान सम्भव भएन। उनको मृत्युसँगै कांग्रेसले सर्वमान्य र सबैलाई माया गर्ने नेतृत्व पनि गुमायो। बहुदलकालपछि पार्टी गिरिजाप्रसादले कब्जा गरे। उनको गुटमा लाग्ने नेताहरुले अवसर पाए, तर नेतृत्व पाउने सम्भावना रहेन। किनकि, त्यसका लागि उनी आफैं थिए।

२०६२/६३ सालको प्रारम्भमा जतिबेला कांग्रेसको नेतृत्व तहमा मधेसका नेताहरुको बाहुल्य हुनुपर्थ्यो। त्यतिबेला ऊ मधेसका विषयमा प्रष्ट हुनसकेन। नेता पनि जोगाउन सकेन। महन्थ ठाकुर लगायतका नेताहरु भारी मन लिएर कांग्रेस छाड्दै रहे। कांग्रेसले बिदाइको हात हल्लाइरह्यो। परिणामतः आज कांग्रेसमा मधेसबाट प्रतिनिधित्व गर्ने प्रभावशाली नेता पनि छैन, मधेसमा जनमत पनि खुम्चिँदै गएको छ।

मधेसमा साख फर्केला?
बाबुको पदचाप पछ्याउँदै कांग्रेसको राजनीति निधि गरेका मधेसबाट कांग्रेसको मूल नेतृत्वमा पुग्ने अभिलाषामा छन्।
 
मधेशलाई आधार भूमिका रुपमा परिभाषित गर्दै आएको कांग्रेस निरन्तर उक्त स्थानमा कमजोर हुँदै गएको छ। स्वयं निधिको वर्चस्व धनुषामा समेत ह्रास हुँदै गएको छ। संसदीय निर्वाचनका लागि विगतमा भएका ७ निर्वाचनमा कांग्रेसको लागि सिट संख्या बढाउन अकाट्य सत्यका रुपमा मधेस स्थापित भयो। सिट संख्या बढाउने क्षेत्र मधेस थियो।

विगतको गौरवलाई प्रचार गरिहने कांग्रेसका लागि वर्तमानमा मधेस सहज छैन। निरन्तर ओरालो यात्रामा कांग्रेस छ। नेपाली कांग्रेसको राजनीति लामो समय गरेका जेपी गुप्ता मधेसको सवालमा कांग्रेसको दृष्टिकोण परिवर्तन नहुन्जेल मधेसी मुलकै व्यक्ति अघि सारेर साख फिर्ता नहुने बताउँछन्। ‘कांग्रेसको दृष्टिकोणले मधेसका जनताले कांग्रेसप्रति कम अपनत्व महसुस गरे। निधि आउनासाथ अपनत्व बढेर जाने होइन। केही फरक पर्ला’, गुप्ताकाे भनाइ छ।

२०१५ को आम निर्वाचनमा कांग्रेसले देशभरबाट ७४ सिटमा विजय हात पारेको थियो। त्यसबेलाको मुख्य योगदान मधेसकै थियो। त्यसयताका निर्वाचनमा पनि कांग्रेसको ‘नाक जोगाउन’ मधेसकै मुख्य देन छ।

मधेसका अनिर्णित मुद्दामा निधिले अग्रसरता नलिएको अवस्थामा उनको उम्मेदवारीले अर्थ नराख्ने गुप्ता बताउँछन्।

२०१५ को आम निर्वाचनमा कांग्रेसले देशभरबाट ७४ सिटमा विजय हात पारेको थियो। त्यसबेलाको मुख्य योगदान मधेसकै थियो। त्यसयताका निर्वाचनमा पनि कांग्रेसको ‘नाक जोगाउन’ मधेसकै मुख्य देन छ। कुल १०९ सिटमा निर्वाचन हुँदा कांग्रेसले २०१५ सालमा मधेशबाट २४ सिट जितेको थियो। देशभर कांग्रेसले ७४ सिटमा जित निकालेको थियो।

पक्षपातपूर्ण व्यवहार र दृष्टिकोणले नै मधेसमा कमजोर हुँदै गएको धेरै कांग्रेसका नेता स्वीकार्छन्। संस्थापक नेता बिपी कोइरालाले पक्षपात नगरेकै कारण मधेस कांग्रेसको जग भएको राजनीतिक विश्लेषक सीके लाल बताउँछन्। उनले नेपाललाइभसँग केही समयअघि भनेका थिए, ‘बिपी मैथली भाषा बोल्नसक्ने थिए। मधेसलाई पहाडसँग जोड्नका लागि हिन्दी पनि बोले।’

गिरिजाको देहावसानपछि मधेसमा कांग्रेस करिब सकिएको बताउँदै विश्लेषक लाल भन्छन्, ‘अब मधेसमा कांग्रेसको जे बाँकी छ, ती खानदानी कांग्रेसहरु हुन्।’

लालले भनेजस्तै निधि ‘खान्दानी कांग्रेस’ कै हैसियतमा यतिबेला मधेसका नेता छन्।

विभिन्न जिल्लामा छरिएर रहेका पुरानो पुस्ता कांग्रेसलाई टेवा दिइरहेका थिए। पुरानो पुस्ताको भरथेग अब कांग्रेसका लागि सकिएको छ। गुप्ता विगतको स्मरण गर्दै भन्छन्, ‘एक जनाको साखले मात्रै मधेसमा कांग्रेस बलियो भएको थिएन। बिपीको दृष्टिकोणको साथमा मधेसमा बहु लिडरसिप पनि थियो।’

नेताको भूमिका र सम्मान मधेसले विगतमा विशेष रहेको गुप्ता सम्झन्छन्। कुनै नेता बिरामी हुँदा पुरै मधेसमा चर्चा हुने विगतको परम्परा हटेको उनले सुनाए। नेताप्रति विश्वास गुम्दै गएपछि मधेसका जनताले भरोसा गुमेको महसुस गरेको गुप्ताको बुझाइ छ।

विरासतको राजनीतिले मात्रै उदाएको नेताका रुपमा उनी चिनिदैनन्। क्षमता भएर नै २०३६ सालमा बिपीले उनलाई नेविसंघको सभापति बनाएको बताइन्छ। 

कांग्रेसका खम्बाका रुपमा रहेका मधेसका पुराना नेताहरु निधन भइसकेको छ। नयाँ पुस्ताको कांग्रेसप्रति आकर्षण नै छैन। निधि सभापति बन्न परिस्थितिले साथ दिएको अवस्थामा पनि कांग्रेसको मधेसमा पुनर्ताजगी हुन कठिन रहेको गुप्ता सुनाउँछन्। उनले भने, ‘एक्लो विमलेन्द्र निधिको श्रीवृद्धिले कांग्रेसको मधेसमा साख बढ्ने धेरै देख्दिनँ।’

गुमेको साखको विवेचना गरी बहु नेतृत्व मधेसमा स्थापित गर्न उनले कांग्रेसलाई सुझाव दिए।

निधिका सबल र दुर्बल पक्ष
निधि कांग्रेस समर्थकलाई माया गर्ने नेताका रुपमा चिनिन्छन्। परिस्थितिको सही ढंगले विवेचना गर्ने नेतामा गनिन्छन्। सभापति देउवालाई समय-समयमा आवश्यक सल्लाह पनि दिँदै आएका छन्।

विरासतको राजनीतिले मात्रै उदाएको नेताका रुपमा उनी चिनिदैनन्। क्षमता भएर नै २०३६ सालमा बिपीले उनलाई नेविसंघको सभापति बनाएको बताइन्छ। जबकि, उनकै बुबाले समेत विमलेन्द्रलाई बनाउनुपर्छ भनी ढिपी गरेका थिएनन्।

‘शशांक कोइरालासँग विमलेन्द्रलाई दाँज्नु हुँदैन। शशांक राजनीतिमा अघि बढ्दा पृष्ठभूमिमा बिपीमात्रै हुनुहुन्थ्यो। उनले पार्टीमा सिन्को भाँचेका थिएनन्’, गुप्ताले भने, ‘महेन्द्रनारायण निधिको छोरो हुनुभन्दा धेरै गुणा बढी उनले पार्टीमा योगदान दिएका छन्। धेरै बढी उनले यातना खपेका हुन्। विरासत प्राप्त उनलाई भएको होइन।’

निधिको सबल पक्ष तर्कशील नेता पनि हुन्। निधिको सकारात्मक पक्षबारे गुप्ता भन्छन्, ‘विपक्षीलाई आलोचना पनि नबिझ्ने गरी प्रस्तुत गर्न सक्नुहुन्छ।’

सुसंस्कृत परिवारमा हुर्केका र अध्ययन गरेका पनि हुनाले आलोच्य शब्द नबोल्ने नेताका रुपमा गुप्ताले निधिलाई बुझेका छन्।

गुटकै फेर समातेर अहिलेको अवस्थासम्म पुग्नु उनको दुर्बल पक्षका रुपमा चित्रण गरिन्छ। मधेसमा उनकै कारण गुटबन्दी मौलाएको आरोप पनि लाग्ने गरेको छ। आसन्न निर्वाचनमा भिड्दासमेत उनले गुटकै सहायता लिनुपर्ने अवस्था निर्माण हुनसक्नेछ।

स्रोत: नेपाल लाइव

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »