
युएई । अबुधाबीस्थित नेपाली दूतावासले युएई-काठमाडौंको नियमित हवाइ उडान तालिका सार्वजनिक गरेको छ । दूतावासले बुधबार सूचना जारी गर्दै ५ देखि ३० सेप्टेम्बरसम्मको उडान तालिका सार्वजनिक गरेको हो ।
सरकारले सेप्टेम्बरदेखि नेपाली नागरिक र तोकिएका विदेशी पर्यटकलाई मात्रै नेपाल लैजाने तयारी गरी नियमित रुपमा युएई-काठमाडौं उडान सञ्चालन गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो ।
उडान तालिका सार्वजनिक गर्दै दूतावासले नेपाल जानका लागि आफूलाई पायक पर्ने मिति र एयरलाइन्सबाट टिकट लिन सकिने जनाएको छ । युएईबाट नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट समेत साथमा बोक्नुपर्ने भएको छ ।
दूतावासले भनेको छ, ‘नेपाल जाने सबै यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेर तत्पश्चात उत्पन्न हुने बारकोड वा प्रिन्ट कपी अनिवार्य रुपमा लिएर जानुपर्नेछ ।’
इन्ट्री फारम https://ccmc.gov.np/arms/login.php मा लगइन गरेर भर्न सकिन्छ । यात्रुले नेपाल फर्किएपछि अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ ।
यस्तो छ उडान तालिका
नेपाल एयरलाइन्सले सेप्टेम्बर ६, ८, १३, १५, २०, २२, २७ र २९ मा दुबईबाट उडान भर्ने भएको छ ।
हिमालयन एयरलाइन्सले अबुधाबीबाट सेप्टेम्बर ५, १२, १९ र २६ को उडान तालिका बनाएको छ ।
एयर अरेबियाले सेम्टेम्बर ६, २० र २९ मा सारजाहबाट उडान भर्ने छ भने फ्लाइ दुबईको जहाज सेप्टेम्बर ८, १५ र २२ मा दुबईबाट नेपालका लागि प्रस्थान गर्ने छ ।
उद्धार उडान मार्फत युएईबाट मात्रै हालसम्म कोभिडका कारण विभिन्न समस्यामा परेका करिब १४ हजार नेपाली स्वदेश फर्किसकेका छन् । दूतावासले स्वदेश फर्कनेहरुका लागि आह्वान गरेका फारममा ४२ हजारले स्वदेश फर्कने इच्छा जाहेर गरेका छन् ।
युएईमा रहेका नेपालीहरु भन्छन:
संयुक्त अरब इमिरेट्स (युएइ) र काठमाडौँबीच नियमित अन्तर्राष्ट्रिय हवाइ उडान सञ्चालनसम्बन्धी सूचना राजदूतावासले आज जारी गरेको छ। जस अनुसार यस महीनामा नियमित उड़ान हुने तालिका र टिकट किन्ने ठेगाना जानकारी गराईएको छ। यो एकदमै सराहनीय काम हो। तर ती एयरलाइन्सहरुले AED ७०० पर्ने टिकटको लागी AED ३,००० सम्म असुली गरी राखेका छन्। उद्धारको नाममा भ्रष्टाचार गरी राखेका छन्। रोज़गार गुमाएकाहरु संग यत्रो भाड़ा उठाउने कार्य तत्काल बन्द होस्।
अहिले भारतका लागी औसत भाड़ा AED ६५०, पाकिस्तानका लागी AED ५५० र फ़िलीपीन्सका लागी AED ९५० रहेको छ।
यस प्रति नेपाल सरकारको ध्यान तुरन्त जाओस् र भाड़ा दर सार्वजनिक होस्।

