Century Times

अनलाइन कक्षामा आँखाको ख्याल

कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भएको अवस्थामा नेपाल पनि यसबाट अछुत छैन। कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले चालेको बन्दाबन्दीको कदम यसको निम्ति उचित नै ठहरिए पनि यसले अन्य क्षेत्रमा पारेको प्रभाव भने विकराल छ। बन्दाबन्दी सुरुवातसँगै शैक्षिक सत्रलाई निरन्तरता दिन प्रायजसो विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन्।

इन्टरनेट तथा स्मार्ट विद्युतीय उपकरणको कमी भएको अवस्थामा यस विधि सम्पूर्ण विद्यार्थीको पहुँचमा पुग्न सकेन । तर पनि पहुँच भएकासम्मको लागि भने यो निकै प्रभावकारी शैक्षिक विधि सावित भएको छ । फलतः १६०औं दिनको बन्दाबन्दीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नै यसलाई मान्यता प्रदान गर्‍यो ।

बन्द कोठाभित्र अनलाइन कक्षा, दिनभरि घोरिएर मोबाइल, ल्यापटप वा कम्प्युटर स्क्रिन हेरिरहनुपर्ने बाध्यताले गर्दा विद्यार्थीको स्वास्थ्यमा नकारात्मक असर पर्ने विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएको छ। अहिलेको अवस्थामा औसतमा ४ देखि ६ घण्टाको अनलाइन कक्षा, त्यसपछिको अनलाइन खेल तथा मोबाइल फोनको प्रयोगले कुल ८ देखि १० घण्टा डिजिटल स्क्रिन प्रयोग भइरहेको देखिन्छ । लामो समयसम्म यस्ता उपकरण हेर्दा आँखामा पर्ने तत्कालका असरहरूमध्ये आखाँ पोल्ने, बिझाउने, आँसु बगी हेर्न कठिनाइ हुने मुख्य हुन्।

त्यसैगरी एकनास रूपमा हेर्दा आँखा झिम्काई सामान्य अवस्थामा भन्दा न्यून हुन गई आँखा सुक्खा हुने, थाक्ने तथा भारी महसुस हुने हुन्छ। यस्ता स्क्रिनहरूबाट आउने विकिरणले गर्दा निन्द्रामा गड्बडी हुन सक्ने तथ्य पनि विभिन्न खोज अनुसन्धानले देखाइसकेको छ।

डा.जुनू श्रेष्ठ/ डा. दिपककुमार साह (दृष्टि विशेषज्ञ)

विकिरणबाट बच्नका लागि बजारमा धेरै किसिमका कोटेड चस्माहरू पाइन्छन् तर ती चस्माको विद्यालय उमेरका बालबालिकामा उपयोगिता तथा प्रभावकारिता भने अझै अनुत्तरित रहेको छ । अन्ततः यस्ता विद्युतीय उपकरणमा धेरै नजिक गएर (२० से.मी भन्दा कम) लामो समयसम्म (३ देखि ६ घण्टा) पढ्दा विद्यालय उमेरका बालबालिकामा (७-१२ वर्ष) अदूर दृष्टिको जोखिम बढ्न जान्छ। यति मात्र नभई यसले मानसिक स्वास्थ्यमा पनि प्रतिकूल असर पार्ने देखिन्छ, जस्तै चिड्चिडाहट हुने, स्मरणशक्ति कमजोर हुने आदि ।

यसको समाधानका लागि अब अनलाइन कक्षा नलिने होइन तर व्यवस्थित अनलाइन कक्षा सञ्चालन गर्नु हो ।  विश्व स्वास्थ्य संगठनले पाँच वर्षमुनिका बालबालिकालाई एक घण्टाभन्दा कम समय मात्रै डिजिटल उपकरण प्रयोग गर्ने सल्लाह दिएको छ। यसैगरी पाँच वर्षमाथिका बालबालिका लागि बारम्बार ब्रेक या विश्रामसहितको निर्देशित समयावधि (दिनमा २ देखि ३ घण्टा) मात्रै प्रयोग गर्नु उचित भनिएको छ।

आँखामा समस्या हुन नदिन निम्न उपायहरू अवलम्बन गर्न सकिन्छः

१. बाहिर घाममा खेल्ने या समय बिताउने,

२.      डिजिटल उपकरणको प्रयोग गर्दा प्रत्येक २० मिनेटमा २० सेकेण्डको विश्राम लिने,

३.      दुई घण्टाको निरन्तर प्रयोगमा कम्तीमा १५ मिनेटको ब्रेक अनिवार्य लिने,

४.      डिजिटल उपकरण १८ देखि २४ इन्चको दुरीमा राख्ने,

५.      कम्प्युटर स्क्रिनलाई आँखाको सतहबाट १५-२० डिग्री तल राख्ने,

६.      आँखामा प्रकाशको चमक सिधै नपार्ने,

७.      आसनलाई सहज बनाउने,

८.      समय समयमा आँखा झिम्काउने तथा

९.      सुत्नुभन्दा कम्तीमा एक घण्टा अगाडि नै हेर्न बन्द गर्ने

यसै सन्दर्भमा अनलाइन कक्षालाई सरकारले मान्यता दिएअनुरूप यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न यथासक्य छिटो मार्गदर्शन या निर्देशिका बनाई तदनुरूप कार्यान्वयन गरी अघि बढ्न सकेमात्र यो विपद्को घडीमा अवलम्बन गरिएको शैक्षिक विधि प्रभावकारी हुन सक्छ । हैन भने यसैले भविष्यमा अर्को विपद् नल्याउला भन्न सकिन्न ।

Source: Onlinekhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »