Century Times

रैथाने खेल : नयाँ पुस्ताका लागि इतिहासमा सीमित हुँदै

रैथाने खेल : नयाँ पुस्ताका लागि इतिहासमा सीमित हुँदै

काठमाडौं । माटोको भाँडाकुटी बनाउने, माटैको पैसा । चिलाउनेको पातलाई पैसा मानेर माटोबाट बनेका भाँडाकुँडाको खरिद बिक्री । रुखको हाँगा हल्लाएर मोटरको अनुभव होस् वा सलाईको बट्टामा धागोले जोडेर बनाएको टेलिफोन किन नहोस् । २०५० को दशकसम्म बालापन गुजारेका पुस्ताले लिएको रैथाने खेलको मनोरञ्जन हो यो ।

बालापनमा कुनै कुराको अभाव थिएन । कागजको ढुंगा पानीमा चल्थे । हावामा कागजकै विमानले उडान भर्थे । गुह्ये कीरालाई सलाईको बट्टाभित्र राखेर ‘रेडियो’ बजाउनेदेखि भदौरे किराको पुच्छरमा डोरी बाँधेर लिइने मनोरञ्जन अहिले केवल इतिहास भएका छन् ।

प्रविधिको विकाससँगै सहरी र ग्रामीण भेगका बच्चाहरु अहिले शारीरिक अभ्यास हुने खेल खेल्न छाडिसकेका छन् । फ्रिफायर, पब्जी जस्ता इन्टरनेटको सहायताले खेलिने शारीरिक अभ्यासबिनाका खेलमा एकोहोरो हुँदा सामूहिक भावनामा समेत ह्रास आउने गरेको छ ।

पछिल्लो तीन दशकमा धेरै शारीरिक खेलहरु लोप भइसकेको छ । कति रैथाले खेलहरु लोपोन्मुख छन् ।

सन् १९७० को दशकमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव बनेका शरदचन्द्र शाहको कार्यकालमा नेपालको रैथाने खेलहरुको खोजी गर्न समिति गठन भएको थियो । १४ वटै अञ्चल सचिवहरुले देशभरका रैथाने खेलबारे तथ्यांक संकलन गरे । साथै, त्यसमध्ये कुन खेललाई अन्तर्राष्ट्रिय स्तरमा लैजान सकिन्छ ? भन्ने बारेमा पनि सुझाव माग भएको थियो ।राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले खेलकुद शब्दलाई परिभाषित गर्ने क्रममा परम्परागत खेललाई समेत खेलकुदभित्र समेटेको छ । यस विषयमा तीन दशकअघि खोजी भएपनि पछिल्लो समय मन्त्रालयले परम्परागत खेलबारे कुनै चासो दिने गरेको छैन ।

सोही अध्ययनले नेपालमा सबैभन्दा धेरै खेलिने खेल भलिबल हो भन्ने देखाएको राखेपका तत्कालीन सदस्य सुवर्ण क्षेत्री बताउँछन् । त्यतिबेला नेपालमा खेलिने खेलमध्ये अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन सकिने खेलहरुको सूची तयार पार्न सो अध्ययन गरिएको थियो । उनी भन्छन्, ‘त्यतिबेला रैथाने खेलको बारेमा अध्ययन गरेर प्रतिवेदन पनि तयार भएको थियो, तर विविध कारणले त्यो रिपोर्ट अहिले भेटिंदैन ।’

सो अध्ययनले मार्सल आर्ट, बक्सिङ, भारोत्तोलन जस्ता खेललाई अन्तर्राष्ट्रिय स्तरमा लैजान सकिने कुरा औंल्याएको थियो । सोही प्रतिवेदनको आधारमा खेल चयन गर्दा सन् १९८६ को सियोल एसियन खेलमा नेपालले खेलकुद इतिहासमा सबैभन्दा पहिले आठवटा कास्य पदक जितेको क्षेत्री बताउँछन् । त्यसमध्ये नेपालले बक्सिङ र तेक्वान्दोमा समान चारवटा पदक जितेको थियो ।

वातावरणमैत्री खेल

हाम्रा अधिकांश रैथाने खेलहरु वातावरणमैत्री र आर्थिक हिसाबले समेत सस्तो खालको देखिन्छ । जसमा मनोरञ्जनको लागि आर्थिक भार नपर्नेगरी गाउँघरमै भएका सामग्रीको जुगाड गरी मनोरञ्जनको साधन बनाइन्थ्यो ।

पुराना रैथाने खेलहरु ऋतु विशेषमा खेलिने खालका छन् भने केही खेल मात्रै बाह्रै मास खेल्ने खालका छन् । जस्तो, डण्डीबियो हिउँद महिनामा धान काटेपछि खाली भएको खेतमा खेल्ने गरिन्छ । बाघचाल बाह्रै महिना खेल्ने गरिन्छ । यसमा शारीरिकभन्दा मानसिक कसरत हुन्छ ।

परम्परागत खेल संरक्षणमा मन्त्रालय उदासीन

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले खेलकुद शब्दलाई परिभाषित गर्ने क्रममा परम्परागत खेललाई समेत खेलकुदभित्र समेटेको छ । यस विषयमा तीन दशकअघि खोजी भएपनि पछिल्लो समय मन्त्रालयले परम्परागत खेलबारे कुनै चासो दिने गरेको छैन । युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता विदुरप्रसाद खनालले परम्परागत खेलकुदकै लागि भनेर विशेष कार्यक्रम नराखेको भएपनि मन्त्रालयले विभिन्न शीर्षकमा परम्परागत खेलकुदको संरक्षणको लागि काम गर्ने बताए ।

ऐनले ‘खेलकुद भन्नाले शारीरिक तथा मानसिक प्रयास र सीपको माध्यमबाट व्यक्तिगत वा समूहमा प्रतिस्पर्धात्मक क्रियाकलापमा संलग्न रही नतिजामुखी उपलब्धि हासिल गर्ने क्रियाकलापमा सक्रिय रहने कार्यलाई सम्झनुपर्छ र सो शब्द प्रचलित पर्यटकीय साहसिक तथा परम्परागत खेलहरुलाई समेत जनाउँछ’ भन्ने परिभाषा गरेको छ ।

त्यस्तै, ऐनले नै मन्त्रालयले परिषद्को सिफरिसमा नेपालमा मौलिक तथा परम्परागत रुपमा खेलिने खेलहरुलाई नेपालको मौलिक तथा परम्परागत खेल तोक्न सक्ने व्यवस्था गरेको छ । तर अहिलेसम्म मन्त्रालयले यसतर्फ ध्यान दिएको छैन ।

देशका विभिन्न ठाउँमा खेलिने रैथाने खेलहरु

देशका विभिन्न ठाउँमा मौलिक खालका खेलहरु रहेको पाइन्छ । कतिपय खेलहरु ठाउँ विशेष भिन्न नामहरु राख्ने गरेको पाइन्छ । सामान्यतया देशका विभिन्न ठाउँमा खेलिने रैथाने खेलहरु निम्नानुसार छन् ।

गुच्चा

गुच्चा नेपालको ग्रामीण भेगमा खेलिने मौलिक खेल हो । समयसँगै यसको खेल्ने तौरतरिकामा पनि परिवर्तन आएको छ । गुच्चा बित्ता नापेर, पिल गरेर, भलेर, सोरठ र ट्वाक्क ठोक्ने आदि लगायत तरिकाले खेलिन्छ । हार्नेले जित्नेलाई गुच्चा नै तिर्नुपर्ने नियम धेरैतिर छ ।

चम्चा/गुच्चा

चम्चा गुच्चा खेल चम्चामा गुच्चा राखेर हिंड्ने एककिसिमको मौलिक खेल हो । प्रतिस्पर्धीहरुलाई सिधा लाइनमा राखिन्छ । उनीहरुलाई एउटा चम्चा र गुच्चा दिइन्छ । प्रतिस्पर्धीहरुले मुखमा चम्चा राखेर त्यसमाथि गुच्चा राख्छन् । मुखले चम्चाको बिँड टोकेर टोली अघि बढ्छ । धेरै परसम्म गुच्चा नखसाली पुग्नेले खेल जित्छ ।

खोपी

नेपालको ग्रामीण भेगमा विशेषगरी गाईवस्तु चराउन जाँदा खेलिने सामूहिक खेल हो । यसमा एउटा खाल्डो बनाइन्छ । त्यसमा निश्चित दूरीमा पुगेर गुच्चा, सिक्का/पैसा वा चेप्टो ढुंगाले निशाना बनाएर हानिन्छ । जसले त्यो खाल्डोमा पार्न सक्छ उसैले खेल जित्छ ।

बाघचाल

बाघचाल सामान्यतया ग्रामीण भेगमा चौतारीमा बसेर खेलिन्छ । बाघचालमा कुल २५ वटा कोण हुन्छ । जसमा २० वटा बाख्रा र चारवटा बाघ हुन्छ । जसमा बाघले बाख्रालाई खाने प्रयास गर्छ भने बाख्राले बाघलाई थुन्ने प्रयास गर्छ । बाघले बाख्रालाई अगाडिको कोण खाली छ भने मात्रै खान सक्छ ।

बाघले बाख्रा आएपछि त्यो बाख्रा मानिएको ढुंगालाई निकालिन्छ र १९ वटा बाख्राबाट बाघलाई थुन्ने प्रयास गरिने छ । बाघले कम्तीमा ६ वटा बाख्रा खाएपछि त्यो खेल जितेको ठहरिन्छ भने चारवटै बाघ चल्न नसक्ने अवस्थामा रहेको खण्डमा त्यो बाख्रा बनेर खेल्नेले जितेको मानिन्छ ।

डण्डीबियो

डण्डीबियो नेपालको ग्रामीण क्षेत्रमा खेलिंदै आएको एक खेल हो । भलिबल राष्ट्रिय खेल हुनुअघिसम्म डण्डीबियो र कबड्डीलाई राष्ट्रिय खेल भनिंदै आएको भएपनि आधिकारिक रुपमा यसको उल्लेख कतै थिएन । यसमा करिब दुई फिट लामो काठको डन्डी र करिब ६ इन्च लामो काठकै छोटो बियो प्रयोग गरिन्छ । डन्डीको एकतिरको छेउ छड्के बनाइएको हुन्छ भने बियोको दुवैतिरको छेउ छड्के वा तिखो बनाइएको हुन्छ । यो भारतीय खेल गिल्ली डण्डा जस्तै एक खेल हो ।

डण्डीबियो खेल्न सुरुमा बियोलाई जमिनमा बनाइएको करिब चार इन्च लामो र दुई इन्च गहिरो खाल्टो (खोपी)मा तेर्सो पारेर राखिन्छ । डण्डीबियोमा खेलाडी संख्या तथा खेल मैदानको आकार निर्धारण गरिएको हुँदैन । यसरी खेल्दा खोपीदेखि बियोको अन्तिम स्थानको दूरी नाप्न आठ एकाई भएको गणना प्रयोग गरिन्छ ।

पानढुंगे/लक्कुढाल/किंवल

पानढुंगे/लक्कुढाल/किंवल खेल पनि रोचक परम्परागत खेल हो । यसको नाम ठाउँ अनुसार फरक भएपनि खेलको तरिका उस्तै हो । जसमा ५/६ वटा ढुंगालाई खातखात बनाएर राखिन्छ । त्यसलाई निश्चित दूरीबाट बलले हिर्काएर ढालिन्छ । त्यो ढलेको ढुंगालाई ढाल्ने व्यक्तिले मिलाउनुपर्छ । विपक्षीहरुले लक्कु ढाल्नेलाई बलले हान्छन् । बल जहाँ पुगेको छ, त्यहींबाट बलले हिर्काउनुपर्छ ।

ढलेको ढुंगा मिलाउनुभन्दा पहिले बलले लाग्यो भने ऊ खेलबाट बाहिरिन्छ । तर ढुंगा खातखात लगाउनुपूर्व बलले लागेन भने लक्कु ढाल्नेको जित हुन्छ ।

घुर्रा

घुर्रा पहिले-पहिले काठको हुन्थ्यो । बीचमा डोरी राखेर घुमाउने घुर्रालाई पछि व्यावसायिक बनाउने क्रममा चकलेट राखेर घुमाउने र पछि खान पनि मिल्ने खालको चकलेट आयो । गोलो, चेप्टो चक्लेटमा धागो छिराएर घुमाउन मिल्ने हुन्थ्यो, एकछिन घुमाएपछि खान पनि मिल्ने खालको हुन्थ्यो ।

गिर

गिर हान्ने खेल पनि विशेषगरी धान काटेपछि खाली खेतमा खेलिन्छ । गिर बनाउँदा कतै चप्पललाई गोलो आकारमा काटेर बनाइन्छ भने कतै काठको पनि प्रयोग गरिन्छ । त्यसलाई एउटा लौरोले हिर्काएर वारपार गराउने गरिन्छ । फुटबलमा जस्तै एकले अर्काे पक्षमा पुर्‍याउने कोसिस गर्छन् । गिरलाई जुन कुनामा पुर्‍याएपछि त्यो खेल जितिन्छ ।

रुमाल लुकाइ

रुमाल लुकाइ खेल अहिले पनि कताकतै कार्यक्रमहरुमा खेल्ने गरिन्छ । यसमा गोलो घेरामा प्रतिस्पर्धीहरुलाई राखिन्छ । जसको पछि एउटा व्यक्तिले रुमाल राखेर हिंडेको हुन्छ । रुमाल राख्ने व्यक्तिले सबैलाई परिक्रमा गर्नुपूर्व नै आफ्नो पछि रुमाल राखेको पत्ता लगाउनुपर्ने हुन्छ । अन्यथा रुमाल राख्ने मान्छेले त्यही रुमालले पिट्दै लखेट्छन् । त्यसपछि रुमाल पछि राखेका व्यक्ति ‘डुम’ बन्छन् र अर्को व्यक्तिको पछि रुमाल राख्न जान्छन् ।

भाले जुधाइ

भाले जुधाइ खेल पनि दुई वा सोभन्दा बढीमा खेलिने एकप्रकारको खेल हो । जसमा एउटा खुट्टालाई माथि उठाएर हातले समात्ने गरिन्छ । त्यस्तो अवस्थामा एउटा खुट्टा मात्रै टेकेर खेल्नुपर्ने भएकोले धेरैबेर टिक्न गाह्रो हुन्छ । सबैलाई लडाएर जो अन्तिमसम्म टिक्छ उसैले खेल जित्छ ।

फिरफिरे

फिरफिरे बच्चामा एक्लै खेलिने खेल हो । कागज वा बाँसको सुकेको धोतीलाई दुई समान पत्ता बनाएर त्यसको एकअर्कामा जोडेर फिरफिरे बनाइन्छ । चैत वैशाखमा हावा चल्ने समयमा त्यो फिरफिरेलाई काठको डण्डीले अड्याएर गुडाउँदै दौडिनु फिरफिरेको रमाइलो पक्ष हो ।

डोरी तान्ने खेल

डोरी तान्ने खेल सामूहिक रुपमा खेलिने एकप्रकारको खेल हो । जसमा दुवै समूहमा मान्छे बस्ने गर्छन् र एउटा मजबुत डोरीलाई दुवैतर्फ तानातान गरिन्छ । जसले अर्को समूहलाई आफ्नो समूहतिर खिच्न सक्यो त्यो नै विजयी हुन्छ । यसरी डोरी तान्ने खेल खेलिन्छ ।

खुट्टी

खुट्टी ढुंगाको सानो टुक्रालाई गोलाकार शैलीमा तयार पारेर एउटा खुट्टा उचालेर अर्काे टेकिएको खुट्टाले ढुंगालाई हानेर खेलिने खेल हो । यसको पनि छुट्टाछुट्टै नियम र खेलको प्रकार हुन्छ । भुइँमा रेखा कोरिएको हुन्छ । त्यो रेखामा नछोई तोकिएको कोटामा ढुंगालाई पुर्‍याउनुपर्ने हुन्छ ।

गट्टा

गट्टा अहिले पनि कसैकसैले खेल्ने गर्छन् । यो विशेषगरी किशोरीहरुको खेल हो । यसमा ५, ७ वा ९ वटा बाटुलो ढुंगालाई हातमा राखेर खेल्ने गरिन्छ । यो पनि दुई वा सोभन्दा धेरैले सामूहिक रुपमा खेलिने खेल हो । यो बाह्रै महिना खेल्ने गरिन्थ्यो ।

चोर पुलिस

कतै लुकिडुम त कतै चोरपुलिस भनेर खेलिने यो खेल सामूहिक रुपमा खेलिने खेल हो । यसमा एक जनालाई मान्छे खोज्न वा पहिचान गर्नको लागि ‘डुम’ बनाइन्छ । उसले सीमित गणना गर्ने बेलासम्म सबैजना लुकिसकेको हुनुपर्छ । डुमले लुकेको मान्छेलाई खोज्दै हिंड्छ र यदि डुमले देख्नुपूर्व उसलाई लुक्ने मान्छेले छोयो भने ऊ फेरि डुम बन्छ । यसरी यो खेल खेलिन्छ । अहिलेका बालबालिकाहरुले यो खेललाई हाइड एण्ड सेक भनेर खेल्ने गरेको पायन्छ ।

घैंटो फुटाइ

घैंटो फुटाइ खेलमा एउटा घैंटोलाई बीचमा झुण्ड्याइन्छ । सहभागीलाई एउटा निश्चित ठाउँमा आँखामा पट्टि बाँधेर घैंटो फुटाउन भनिन्छ । जसले घैंटो फुटाउन सक्छ, उही विजयी हुन्छ । यो खेल विशेषगरी हिउँद महिनामा वनभोजको समयमा बढी खेल्ने प्रचलन छ ।

ठेलो

ठेलो वा छेलो खेल पश्चिम नेपालको कास्की र लमजुङ लगायतका जिल्लामा चर्चित खेल हो । अहिले प्रदेश सरकारले यसको प्रवद्र्धनको लागि विभिन्न कार्यक्रम समेत आयोजना गरेको छ । यो खेल दुई शताब्दीभन्दा पुरानो रहेको स्थानीय बताउँछन् । यसमा एउटा निश्चित ढुंगा तयार पारिन्छ । त्यो ढुंगालाई एउटा निश्चित विन्दुबाट कति परसम्म पुर्‍याउन सकिन्छ ? भन्ने आधारमा यो खेल खेलिन्छ ।

कसिमला पाय्

काठमाडौं उपत्यकामा खेलिने एक रैथाने खेल हो कसिमला पाय् । दुई जनाको समूहमा खेलिने यो खेलको संरक्षणको लागि भक्तपुर नगरपालिकाले आफ्नो पाठ्यक्रममा नै समेटेको छ ।

Leave a reply

Your email address will not be published.

Translate »