भारतमा पानीको लागि इनारको पर्खाल चढिरहेकी महिलाको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा केही महिला इनारबाट पानी निकालेपछि बिना डोरी इनारको भित्तामा चढिरहेका देखिन्छन् । मध्य प्रदेशको घुसिया गाउँको उक्त भिडियोले त्यस भेगका कैयौं स्थानमा कायम पानीको अभावलाई उजागर गर्छ ।
घुसिया गाउँका मानिसहरु इनार र पोखरीका पानी सुकेपछि यस्तो जोखिमपूर्ण रुपमा पानी निकाल्न बाध्य भएका छन् । मध्य प्रदेशबाहेक भारतका अन्य क्षेत्रका मानिसहरुले पनि यस्तै संकट व्यहोरिरहेका छन् । यसअघि पनि पानीका लागि ज्यान जोखिममा पार्ने काममा संलग्न मानिसहरुको भिडियो बाहिरिन्थ्यो ।
अप्रिलमा यस्तै भिडियो सार्वजनिक भएको थियो, जहाँ एकजना महिला महाराष्ट्र राज्यको एक इनारमा पानी लिन इनार तल गएकी देखिन्छिन् । सन् २०१९ मा सार्वजनिक एक विश्वव्यापी रिपोर्टले भारतलाई विश्वमा ‘पानीको समस्या’ ‘अत्यन्त उच्च’ रहेको १७ मुलुकमध्ये एकमा समावेश गरेको थियो ।
रिपोर्टमा भारतभित्र पनि मध्य प्रदेश, पन्जाब, राजस्थान, उत्तर प्रदेश, गुजरात, उत्तराखण्ड र हरियाणा सबैभन्दा बढी संकटग्रस्त क्षेत्र उल्लेख गरिएका छन् । घुसिया गाउँका क्रुद्ध गाउँलेले पानीको समस्या समाधान नभएसम्म कुनै पनि चुनावमा भाग नलिने बताएका छन् ।
‘गाउँभरमा तीनवटा इनार छन् । ती सुकेर तिनको पिँधमा मात्र पानी बचेको छ । हाते चापाकलमा पानी आउन छाडेको धेरै भइसक्यो । सरकारी कर्मचारी र राजनीति दलका नेता चुनावको समयमा मात्र यहाँ आउँछन् । हामीले पानीको आपूर्ति नभएसम्म मतदान नगर्ने निर्णय गरेका छौं ,’ एकजना गाउँले महिलाले भनिन् ।
भारत जमिनमुनीको पानीको स्रोत उपभोग गर्ने सबैभन्दा ठूलो मुलुक हो । यहाँका धेरै मानिस पानीका लागि भूमिगत पानीको आपूर्तिमा निर्भर छन् । त्यही भूमिगत पानी पनि धेरै गहिराइमा समेत आउन छाडेपछि समस्या उत्पन्न हुन थालेको विश्व बैंकले बताएको छ ।
भारतले सन् २०५० सम्म पानीको चरम अभाव सामना गर्ने र ३० सहर उच्च जोखिमयुक्त क्षेत्रमा पर्ने प्रक्षेपण छ ।