अल्पमतमा रहेको मधेस प्रदेश सरकार जोगाउन जनता समाजवादी पार्टी (जसपा) नेपालले सहकार्यका लागि नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग संवाद जारी राख्ने निर्णय गरेको छ।
मधेस भवनस्थित मुख्यमन्त्री सरोजकुमार यादवको निवासमा बसेको जसपा संसदीय दलको बैठकले दुबै पार्टीको समर्थन लिई यही सरकार टिकाइराख्न हरसम्भव कोसिस गर्ने निर्णय गरेको जसपा संसदीय दलका प्रमुख सचेतक रामअशिष यादवले बताए।
जसपा विभाजनपछि नयाँ सरकार गठनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिइसकेको छ।
नेकपा एकीकृत समाजवादीको मात्रै समर्थन रहेको जसपा नेतृत्वको प्रदेश सरकार अहिले अल्पमतमा छ। दुवै दलले समर्थन फिर्ता लिइसकेपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री यादवले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।
संसदीय दलको बैठकमा ३० दिन नकुरेर त्यस अगावै विश्वासको मत लिने समेत निर्णय भएको प्रमुख सचेतक यादवले जनाए।
Century Times
