विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।
सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् ।
‘अमेरिकी दूतावास, नेपालले फेरि त्यही गर्यो, २०१९ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपका लागि मेरो भिसा अस्वीकार गरेको थियो । दुर्भाग्यवश । नेपाल क्रिकेटका सम्पुर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।’ उनले लेखेका छन् ।
अमेरिका र वेष्टइन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।
यसअघि पनि सन् २०१९ मा पनि अमेरिकी दूतावासले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जाने बेलामा सन्दीपलाई सुरुमा भिसा दिएको थिएन पछि आलोचना धेरै भएपछि दूतावासले सन्दीपलाई प्रक्रिया पूरा गरेर भिसा दिएको थियो ।
यसअघि उच्च अदालत पाटनले लामिछानेलाई जिल्ला अदालत काठमाडौले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्टाउँदै सफाइ दिएको थियो ।
त्यसपछि उनलाई नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गर्दै विश्वकपका लागि नेपाली टिममा राख्नका लागि आइसिसीसँग सहमति लिएको थियो । आइसिसीको सहमतिसँगै सन्दीप अमेरिका जान लागेका थिए । तर, अमेरिकाले भिसा नदिँदा सन्दीपले विश्वकप गुमाउने आकलन गर्न सकिन्छ ।
Century Times
