Century Times

जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’ सुरु, मन्त्री अर्यालले गरे उद्घाटन

जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’ सुरु, मन्त्री अर्यालले गरे उद्घाटन

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले शनिबार जनकपुरधाममा दुई दिन चल्ने श्रमाधान रोजगार मेलाको उद्घाटन गर्नु भएको छ। 

मेला उद्घाटनका क्रममा मन्त्री अर्यालले धेरैभन्दा धेरै युवाहरूलाई आफ्ना उद्योगमा रोजगारी  मधेश प्रदेशका उद्योगीहरूलाई आग्रह गर्नु भएको छ । शनिबार मेला उद्घाटन गर्दै मन्त्री अर्यालले मधेशमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेको र मधेसबाट ठूलो सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको पनि औँल्याउनु भयो। “यो मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न नसकिए पनि श्रमिक र रोजगारदाताका समस्या आवश्यकता बारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्नेछ,” उहाँले भन्नु भयो । 

त्यस्तै, मन्त्री अर्यालले सरकारले रोजगार बैङ्कको अवधारणा अघि सारेको पनि बताउनु भयो । नेपालबाट भारत जाने श्रमिकहरूको तथ्याङ्क सङ्कलनको काम पनि सरकारले गरिरहेको मन्त्री अर्यालले बताएका छन् । रोजगारी सम्बन्धी केही समस्या परे ११४१ पैसा नलाग्ने श्रमाधान कल सेन्टरमा पनि गुनासो राख्न उहाँले आग्रह गर्नु भयो ।

मधेश प्रदेश श्रम तथा यातायात मन्त्री वेची लुंगेलीले यो मेलाले श्रम क्षेत्रका समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । मेलाबाट बढी भन्दा बढी मधेश प्रदेशका युवाले लाभ लिने विश्वास पनि उहाँले व्यक्त गर्नु भयो । “मधेश प्रदेशमा बेरोजगारी समस्या व्यापक छ । यहाँबाट विदेश पलायन हुनेको सङ्ख्या धेरै छ । यो मेलाले ठूलो योगदान पुराउनेछ भन्ने अपेक्षा छ,’ उहाँले भन्नु भयो । वैदेशिक रोजगारीमा जानेका लागि, देशमै केही गर्छु भन्नेका लागि र वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि यो मेलामा धेरै कुराहरू सिक्ने अवसर राखिएको पनि उहाँले बताउनु भयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मेलाले श्रम बजारको मागअनुसार श्रम शक्ति उत्पादनमा सहयोग पुग्ने बताएका छन् । नेपाली रोजगार क्षेत्रलाई सुरक्षित व्यवस्थित र श्रमिक तथा उद्योगमैत्री बनाउँदै लगिने पनि उहाँले बताउनु भयो  । 

मेलाको उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य मनिष झाले मेलालाई अवसरको रूपमा लिनुपर्ने बताएका छन् । “श्रम सम्बन्धि समाधान आवश्यक छ त्यसैले श्रमाधान योजना आवश्यक छ । हाम्रा युवा विदेश गएर श्रम गर्ने होइन देश बनाउने काम गर्ने हो,’  उहाँले भन्नु भयो ।

मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी, विभिन्न सामाजिक संस्थाहरू लगायत ३५ भन्दा बढी स्टलहरू राखिएका छन्  । श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, कल सेन्टर,  सुरक्षित आप्रवासन सामी,  रेमी श्रमाधान लगायत सरकारी स्टलहरू रहेका छन् । 

कामको खोजीमा रहेका युवाहरूलाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल राखिएका छन् । साइडलाइन सत्रहरू, तथा स्थानीय सांस्कृतिक कार्यक्रमहरू पनि राखिएका छन् 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »