मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेकी छन्।
मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ मुख्यमन्त्रीका लागि शुक्रबार बिहान १० बजेसम्म दाबी पेस गर्न उनले आह्वान गरेकी हुन्।
प्रदेश प्रमुख भण्डारीले नयाँ मुख्यमन्त्री बन्न दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न प्रेस विज्ञप्तिमार्फत आह्वान गरेकी छन्।
‘नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई जेठ २५ गते शुक्रबार बिहान १० बजेभित्र मधेस प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न माननीय प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आह्वान गर्नुभएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठनका लागि चार दलबीच सहमति भएको छ। जनमत पार्टीको संसदीय दलका नेता महेशप्रसाद यादवलाई नयाँ मुख्यमन्त्री बनाउने तयारी छ। नेकपा एमाले, माओवादी, एकीकृत समाजवादी र जनमत पार्टीबीच नयाँ सरकार गठनका लागि सहमति भएको हो।
चार दलीय गठबन्धनको सरकारमा मन्त्रालय भागबन्डा गर्ने विषयमा केही बेरअघिसम्म नेताहरूबीच छलफल भएको थियो। छलफलमा कुन दलले कुन कुन मन्त्रालय पाउने टुंगो नलागेको बैठकमा सहभागी एक नेताले बताए। ती नेताका अनुसार बिहीबार दिउँसो फेरि मन्त्रालयको भागबन्डा टुंग्याउन बैठक बस्नेछ। प्रदेश स्तरमा सहमति नभए केन्द्रीय नेतृत्वले नै मन्त्रालयको भागबन्डा टुंगो लगाउने नेताहरूले बताएका छन्।
बुधबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनको तयारीलाई तीव्रता दिइएको हो। असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण दलहरूले सरकार गठनलाई तीव्रता दिएका हुन्।

Century Times
