माध्यामिक शिक्षा परीक्षा (एसईई)मा २ लाख ४२ हजार ३१४ जना परीक्षार्थी फेल भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर सो संख्याका विद्यार्थी नन ग्रेडेड अर्थात फेल भएको जानकारी दिएको हो । बोर्डका अनुसार उत्तीर्ण हुने विद्याथीमध्ये १.६० बाट दुई सम्म जीपीए ल्याउने ६ जना रहेका छन् ।
यस्तै जीपीए २ देखि २.४० ल्याउने २९५० जना, जीपी २.४० देखि २.८० ल्याउने ४१ हजार ४७७ जना, जीपीए २०.८० देखि ३.२० ल्याउने ७८ हजार ८७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना विद्यार्थी रहेका छन् ।
परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी थिए ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । आज सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी (नन ग्रेडेड) आएको छ ।
जसमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूले साउन १८ गते र १९ गते हुने परीक्षामार्फत ग्रेड वृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताए ।
एक लाख १५ हजार ८३४ जनाले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ । जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।