गएरातिदेखि देशका पूर्वी क्षेत्रमा ठूलो पानी परेको छ। अहिले पनि कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएराति र बिहानपख विशेषगरी धनुषा, सर्लाही, झापा, मोरङ, सुनसरी र सिन्धुलीमा ठूलो पानी परेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो । पछिल्लो २४ घण्टामा सुनसरीको धरानमा सबैभन्दा धेरै १ सय ५१ दशमलव २ मिलिमिटर वर्षा भएको छ । यस्तै मोरङको केराबारीमा १ सय ३८ दशमलव ४ र सर्लाहीमा १ सय ४१ मिलिमिटर पानी परेको छ ।
यसैबीच, काठमाण्डौ उपत्यकामा पनि केही ठाउँमा बिहान हल्का पानी परेको छ । दिउँसो फेरि केही ठाँउमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभयो । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मनसुनी गतिविधि कम हुँदै गएकोले त्यता पानी परेको छैन ।
अबको केही दिन कोशी प्रदेश लगायत देशका पूर्वी भागमा ठूलो पानी पर्ने सम्भावना छ । अरु क्षेत्रमा भने मनसुनी गतिविधि विस्तारै कम हुँदै जाने जनाइएकाे छ ।