जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी जारी गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मनसुन न्यूनचापीय प्रणाली सरदर स्थानबाट नेपालतर्फ सरेकाले महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै उच्च सतर्कता अपनाउन भनेको हो ।
महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अर्थात् नेपालको दक्षिण सिमाना आसपास छ । उक्त रेखा आज रातिबाट अझै नेपालतर्फ सर्ने सम्भावना छ । भोलि बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ ।
त्यसैले यी दुवै प्रणालीको प्रभावले आज असार २६ गते रातिदेखि २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने पूर्वानुमान गरिएको मौसमविद झाले जानकारी दिए ।
सोही विश्लेषणको आधारमा महाशाखाले नेपालका ४३ जिल्लालाई उच्च जोखिममा र २६ जिल्लालाई मध्यम जोखिमको सूचीमा राखेको छ ।
