नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका यात्रुको खोजीका लागि भारतीय टोली परिचालन हुने भएको छ।
गएराति हिँडेको १२ सदस्यीय टोली अहिले रुपन्देही आइपुगेको सशस्त्र प्रहरी बलका डिआइजी प्रवक्ता कुमार न्यौपानेले जानकारी दिनुभयो । आज घटनास्थल पुगेर टोलीले काम थाल्ने र अत्याधुनिक उपकरणसहित आएको टोलीले नेपाली सुरक्षा संयन्त्रसँग समन्वय गर्दै खोजी कार्य सुरु गर्ने न्यौपानेले जानकारी दिनुभयो ।
नारायणगढ–मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस हालसम्म भेटिएका छैनन् । शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन्।बेपत्ता भएका बस र नागरिकको खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो। सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २५ जना यात्रुको शव भेटिएको प्रहरीले जनाएको छ । अझै ३७ जना हराइरहेका छन्।
अघिल्लो शुक्रबार सिमलतालमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुवै बसमा गरी ६५ यात्रु थिए । ती मध्ये तीनजनाले पौडिएर ज्यान जोगाएका थिए।
Century Times
