
जनकपुरधाम । बीमा रकम भुक्तानी गर्न आनाकानी गरेको युनाइटेड इन्सुरेन्सले अन्ततः बीमा वापतको करिब ५ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ ।


बीमा समितिले पनि इन्सुरेन्सकै पक्षमा निर्णय
त्यसो त एभरेष्ट पेपर मिल्सलाई माओवादीको बमले उडाएपछि यसले प्रिमियम तिरे अनुसारको बीमा रकम युनाइटेड इन्सुरेन्ससँग माग गरेको थियो । तर युनाइटेड इन्सुरेन्सले क्षति भएर कटाउने रकममध्ये पनि करिब २ करोड रुपैयाँ मिल्सलाई दिएको थिएन । तत्कालीन समयमा ११ करोडको क्षति भएपनि बीमा कम्पनीबाट ६ करोड ५० लाख मात्रै बीमा रकम प्राप्त गर्न सकिने गरी क्षतिको मूल्यांकन भएको थियो । उक्त रकम युनाइटेट इन्सुरेन्सले तिर्नुपर्ने भएपनि इन्सुरेन्स कम्पनीले भने जम्मा ४ करोड ५० लाख मात्रै रकम दिइ थप रकम दिन आनाकानी गरेको थियो ।
त्यसपछि पुनरावेदन अदालत पाटनमा एभरेष्ट पेपर मिल्सले मुद्दा दायर गरेको थियो । मिल्सको मुद्दा पुनरावेदन अदालत पाटनका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुङ्गानाको इजलाशले युनाइटेड इन्सुरेन्सले नै बीमावापतको बाँकी २ करोड रकम पनि भुक्तानी गर्नुपर्ने फैसला गरेको थियो ।
२०६७ साल वैशाख १३ गतेको उक्त फैसला चित्त नबुझेको भन्दै युनाइटेड इन्सुरेन्स सर्वोच्च अदालत पुगेको थियो ।
तर सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयालको संयुक्त इजलाशले बुधबार एभरेष्ट पेपर मिल्सको पक्षमा फैसला गर्दै बीमावापतको रकम र त्यसको ब्याजसहित भुक्तानी गर्न निर्देशन दिएको हो ।
सर्वोच्चको उक्त फैसलासँगै एभरेष्ट पेपर मिल्सले न्याय माग्न सुरु गरेको १३ वर्षपछि न्याय पाएको छ । एभरेष्ट पेपर मिल्सका महाप्रबन्धक सन्तोष दाहालले अदालतले १३ वर्षपछि न्याय दिएको भन्दै मिल्स सञ्चालन गर्न अब केही सहज हुने बताए ।
युनाइटेड इन्सुरेन्सले तिर्नुपर्नेछ करिब ५ करोड
सर्वोच्च अदालतले बीमा कम्पनीबाटै बीमा वापतको रकम भराउने निर्णय गरेपछि अब बीमा समितिले युनाइटेड इन्सुरेन्सलाई बीमा वापतको रकम भराउन निर्देशन दिनेछ । बीमा ऐन २०४९ अनुसार बीमा रकम समयमै भुक्तानी नभएमा र अदालत पुगी बीमितको पक्षमा फैसला भएमा व्याजरकमसहित भुक्तानी गर्नुपर्ने हुन्छ ।
यसरी हेर्दा युनाइटेड इन्सुरेन्सले तिर्नुपर्ने २ करोडको १३ वर्षको ब्याज १० प्रतिशतका दरले पनि कम्तीमा २ करोड ६० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । तर बीमितले मुद्रास्फितिको कारण देखाउँदै थप रकम माग पनि गर्नसक्ने सम्भावना रहन्छ । यदि थप रकम माग गरेमा बीमा समितिले थप रकमको निर्णय पनि गर्न सक्नेछ ।
पुनर्बीमा कम्पनीको भुक्तानीसमेत रोकियो
एभरेष्ट पेपर मिल्सलाई तिर्नुपर्ने बीमा वापतको रकम अब युनाइटेड इन्सुरेन्सले पुनर्बीमा कम्पनीबाट पाउने छैन । १५ वर्ष अगाडिको घटना भएको र तत्कालीन समयमा उसले दिन इन्कार गरी नदिएको रकम भएकाले अब उसले पुनर्बीमा कम्पनीबाट बीमा दाबी गर्न नमिल्ने भएकाले इन्सुरेन्सले आफ्नै आम्दानीबाट उक्त रकम भराउनु पर्नेछ ।
स्रोत: रातोपाटी
Century Times
