Century Times

जनकपुरधामका बाइस हजार करदाताले वार्षिक कर बुझाएनन्

जनकपुरधामका बाइस हजार करदाताले वार्षिक कर बुझाएनन्

आन्तरिक राजस्व कार्यालय जनकपुरले व्यावसायिक प्यान नम्बर लिएका २२ हजार करदाताले वार्षिक कर नतिरेको जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ती करदाताले आफैँ कार्यालय आई तिर्नुपर्ने कर नबुझाएको कार्यालयबाट जानकारी प्राप्त भएको छ ।

सो कार्यालयअन्तर्गत ३७ हजार व्यावसायिक करदाता रहेको छ । त्यसमध्येका १५ हजार करदाताले मात्र वार्षिक कर अर्थात् (आयव्यय) राजस्व बुझाएको बताइएको छ । कर नबुझाएमा कानुनबमोजिम कारबाही तथा जरिवाना हुने कार्यालयले स्पष्ट गरेको छ ।यसैगरी,  पटक पटक ताकेता गर्दासम्म  राजस्व नबुझाउने २० वटा उद्योगी तथा व्यावसायिक  फार्ममाथि कानुनी कारबाही गरी गत आर्थिक वर्षमा रु १० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख किशोर बर्तौलाले जानकारी दिनुभयो । 

लामो समयदेखि  नियमानुसार लाग्ने कर दस्तुर नबुझाउने एक सय ७८ व्यावसायिक फार्मलाई  कारबाही गर्ने सूचना जारी गरेपछि २० व्यावसायिक फार्मले कर बुझाएका छन् ।कार्यालयबाट उपलब्ध तथ्याङ्क विवरणमा सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व सङ्कलनमा वृद्धि भएको जनाएको छ ।

प्राप्त विवरणमा अघिल्लो आर्थिक वर्ष रु तीन अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु तीन अर्ब ४४ करोड सङ्कलन भएको थियो ।

त्यस्तै गत आर्थिक वर्ष २०८०/८१ मा रु चार अर्ब ४६ करोड ६३ लाख राजस्व सङ्कलन भएको कार्यालय प्रमुख बर्तौलाले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब ११ प्रतिशतले राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष सो कार्यालयले लिएको लक्ष्यअन्तर्गत आयकरबापत रु एक अर्ब ४५ करोड ४७ लाख, घर भाडाबापत रु छ करोड ३५ लाख ६६ हजार, ब्याजकरबापत रु  ११ करोड ११ लाख २२ हजार, मूल्यअभिवृद्धिकरबापत रु एक अर्ब ३० करोड १५ लाख  ५५ हजार, अन्तःशुल्कबापत रु एक अरब ५३ करोड ४२ लाख ८७ हजार, स्वास्थ्यकरबापत रु ११ लाख तीन हजार र शिक्षाकरबापत रु ४९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।

प्राप्त विवरणमा गत आव ०८०/८१ मा आयकरबापत रु एक अर्ब १९ करोड  ३८ लाख ७१ हजार, घर भाडाबापत रु तीन करोड ५० लाख २२ हजार,  ब्याजकरबापत रु सात करोड २० लाख ७४ हजार, मूल्यअभिवृद्धिकरबापत  रु ९७ करोड ७८ लाख ६२ लाख, अन्तशुल्ककरबापत रु एक अर्ब  ५४ करोड  ६६ लाख २१ हजार, स्वास्थ्यकरबापत  रु १५ लाख ३१ हजार, शिक्षाकरबापत रु एक लाख ६८ हजार तथा अन्यकरबापत रु १२ लाख २६ हजार गरी कुल रु तीन अर्ब ८२ करोड ८३ लाख ७५ हजार राजस्व सङ्कलन भएको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »