प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) सञ्चालन गर्न निर्देशन दिएको छ ।
कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । राजपत्रको सूचनामा भएको व्यवस्थाअनुसार निर्देशन जारी गरिएको पत्रमा उल्लेख छ । सूचनामा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरङ्ग सेवासमेत) सार्वजनिक बिदाको दिनमा सञ्चालन गर्नुपर्ने उल्लेख छ ।
मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई सेवा प्रवाह गर्ने/गराउने व्यवस्थाका लागि आवश्यक समन्वय र अनुगमन गर्नसमेत अनुरोध गरेको छ । विशेष व्यवस्थामा अस्पतालसहित नागरिकतासम्बन्धी सेवा, राष्ट्रिय परिचयपत्र, राहदानी, वैदेशिक रोजगार सेवालगायत सेवा सार्वजनिक दिन पनि अन्य दिन सरह सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सार्वजनिक दिनमा अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्ने निर्देशन कार्यान्वयन गर्ने बताउनुभयो । सार्वजनिक बिदाको दिनमा काम गर्ने कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि छलफलमै रहेको उहाँको भनाइ छ ।
Century Times
