तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने जानकारी दिए ।
नेपालको पश्चिमी भेगदेखि मौसमी प्रणाली सुधार हुँदै आइरहेको उहाँको भनाइ छ । अहिलेको मौसमी प्रणाली अन्त्यसँगै नेपालबाट यसवर्षको मनसुन बाहिरिनेछ ।
शाखाले बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव र मनसुन न्यून चापीय रेखा नेपाल र भारतको सीमामा अवस्थित रहनु नै अहिलेको मनसुनी वर्षाको मुख्य कारण भएको जनाएको छ । नेपालको सीमा जोडिएको भारतका धेरै भूभागमा समेत वर्षा भएका छन् ।
पछिल्ला तीन दिनमा मुलुकका विभिन्न स्थानमा अतिभारी, भारी र सामान्य वर्षा भएका छन् । समग्रतामा तीन सय मिलिमिटरभन्दा बढी वर्षा भएको शाखाको तथ्याङ्क छ । ‘कहीँ त्यो भन्दा बढी र कहीँ दुई सय मिलिमिटरसम्म वर्षा भएको छ’, प्रमुख पराजुलीले भने ।
चौबीस घन्टामा एक सय ४० मिलिमिटरभन्दा बढी वर्षा भएमा खतराको तह पार गरेको मानिन्छ । एक सय सात वटा वर्षा मापन केन्द्रमा खतराको तह नाघेको छ । यसपटक ७७ वटै जिल्लामा वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा खास वर्षा भएको छैन । बागमती, मधेस, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ ।
बाढी पूर्वानुमान शाखाले जल सतह खतराको तह पार गरेका २३ नदी तटीय क्षेत्रका बासिन्दामा जोखिमको एसएमएस र १७ नदी क्षेत्रमा सतर्कताको सूचना निरन्तर पठाइरहेको छ । शाखाले वेभसाइट, नियमित बुलेटिन, सामाजिक सञ्जाल र मोबाइल एसएमएसमार्फत सूचना जारी गरिरहेको छ ।
Century Times
