अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएको छ ।
जलशायमा पानीको सतह बढी भएर पानी स्पिल वेबाट बाहिर जानथालेपछि शनिबार बिहान ५.४५ बजेबाट बाँधमा रहेका २ वटा ढोका (गेट) आंशिक रुपमा खोलिएको छ ।
पानीको सतह बढ्नथालेपछि शुक्रबारबाटै ६० मेगावाटको विद्युत्गृहलाई निरन्तर रुपमा पूर्ण क्षमता चलाइएको छ । विद्युत्गृहलाई पूर्ण क्षमतामा चलाउँदा पनि जलाधार क्षेत्रमा अविरल वर्षाका कारण जलाशयको पानी भण्डार गर्ने क्षमता भरिएको हो । जलाशययमा पानीको तह समुद्र सतहबाट १५३०.९३ मिटर पुगेको छ ।
केन्द्र प्रमुख तारादत्त भट्टकाअनुसार, पानीको तह १५३०.३५ पुगेपछि बाँधका ढोका आंशिक रुपमा खोलिएको हो । कुलेखानीको जलाधार क्षेत्रमा हावाहुरीसहित अविरल वर्षा परिरहेकाले २ वटै ढोका पूर्ण रुपमा खोल्नु पर्ने अवस्था आउन सक्ने प्रमुख भट्टले उल्लेख गरे।
बाँधका ढोका खोलिएकाले जलाशयको तल्लो तटीय क्षेत्रमा पर्ने बागमती नदीको बहाव बढ्ने हुँदा त्यस वरवर क्षेत्रका स्थाानीय बासिन्दाहरु समयमै सुरक्षित र उच्च सतर्कता रहन केन्द्रले आग्रह गरेको छ ।
Century Times
