Century Times

भ्रष्ट नेतालाई जनस्तरबाटै बहिष्कार गर्न प्रभु साहको आह्वान

भ्रष्ट नेतालाई जनस्तरबाटै बहिष्कार गर्न प्रभु साहको आह्वान

 आम जनता पार्टी (जपा)का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले ‘भ्रष्ट नेता’लाई जनस्तरबाटै बहिष्कार गर्नुपर्ने बताएका छन् । मुलुकमा भ्रष्टाचार, अनियमितता एवं कुशासन बढ्दै गइरहेको बताउँदै उनले भ्रष्टाचारीलाई बहिष्कार नगरेसम्म मुलुक नबन्ने बताएका हुन् ।

बडादसैँ, शुभ दीपावली एवं छठ पर्वको अवसरमा बाराको कोल्हबी र रौतहटको फतुवा विजयपुर नगरपालिकाको दुधिअवामा आज आयोजित छुट्टाछुट्टै शुभकामना अदानप्रदान एवं भेटघाट कार्यक्रममा सहभागी जपा अध्यक्ष साहले समृद्ध मुलुक निर्माणका लागि भ्रष्टाचारलाई जनकारबाही गर्नैपर्ने बताए । 

‘दिनदिनै मुलुकमा भ्रष्टाचार बढ्दै गइरहेको छ । आम जनता लाचार बनेका छन् । भ्रष्ट नेताहरूकै शासन व्यवस्थामा हालीमुहाली रहेको छ । उनीहरूले जनताको पैसा जसरी पनि लुट्ने धन्दा गरिरहेका छन्’ जपा अध्यक्ष साहले भने, ‘समृद्ध नेपाल निर्माणका लागि सबैभन्दा पहिला भ्रष्ट नेताहरूलाई बहिष्कार गर्नपर्छ । उनीहरूलाई सरकारले पनि कारबाही गर्नुको साटो संरक्षण दिइरहेकाले अब त्यस्ता भ्रष्टहरूलाई जनकारबाही गर्न आम जनता तयार हुनुपर्छ ।’

ठुला दल शीर्ष नेताहरू भ्रष्टाचारमा संलग्न भएको र भ्रष्टाचार गरेको पुष्टि हुँदाहुँदै पनि एकले अर्कोलाई बचाउने, जोगाउने र देशमा लुटेर विदेशमा पैसा थुपार्ने काम भइरहेकाले आम जनताले गाउँ गाउँबाट आवाज उठाउनुपर्ने उनले बताए । 

काण्डैकाण्डले मुलुक बदनाम भएको उनले बताए । गिरीबन्धु टी–स्टेट देखी ललिता निवास लगायतका सयौँ काण्डमा ठुला नेताहरूकै संलग्नता पुष्टि भइसकेको उनले बताए । तर सरकार र भ्रष्टाचार निवारण गर्ने निकायहरू त्यस्तालाई कारबाही गर्नुका साटो पुरस्कृत गर्ने काम गरिरहेको आरोप उनले लगाए । 

‘सरकारकै संरक्षणमा भ्रष्टाचार भइरहेको छ । उनीहरू आफै संलग्न छन् । भ्रष्टाचार निवारण गर्ने, भ्रष्टाचारीलाई कारबाही गर्ने निकाय कमिसन लिएर मौन बसेको छ, लाग्छ की उसलाई केही थाहा नै छैन’ साहले भने, ‘यी सबै मिलेर मुलुक लुटेका छन् । नेपालमा लुट्ने र अकुत सम्पत्ति विदेशमा थुपार्ने काम यिनीहरूले गरिरहेका छन् । आज मुलुक कङ्गाल बनेको छ, आर्थिक अवस्था सङ्कटमा छ । तपाई हामी कहिलेसम्म चुप लागेर बस्ने ? अब आवाज नउठाए हाम्रा सन्ततिहरूले हामीलाई नै गाली गर्नेवाला छन् ।’

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »