फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनको मौन अवधिपूर्व धनुषा ३का उम्मेदवारहरुले आफ्नो प्रचार प्रसारको अन्तिम दिन तीव्र प्रचार प्रसार गरेका छन् ।
रास्वपाका उम्मेदवार मनिष झा विभिन्न गाउँ–टोलमा पुगेर आफ्नो एजेण्डा जनतामाझ राखे । धनुषा–३ अन्तर्गत नगराइन नगरपालिका ६स्थित लगमा पूर्वारी टोलमा घरदैलोकालागि पुग्दै उनले धनुषा–३ मा परिवर्तनको आवाज क्रमशः बलियो बन्दै गएको दाबी गरे ।
‘मतदाताले अब काम गर्ने नेतृत्व खोजिरहेका छन्, यही कारण नयाँ विकल्पतर्फ जनलहर बढिरहेको छ,’ उनले भने । उनका अनुसार अनुसार विगतमा निर्वाचित प्रतिनिधिबाट अपेक्षित विकास र पारदर्शिता नआएकाले मतदातामा निराशा देखिएको छ । यसपटक युवादेखि महिला तथा किसानसम्म नयाँ राजनीतिक संस्कारको पक्षमा उभिन थालेको उनको भनाइ छ ।
घरदैलो अभियानका क्रममा नागरिकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको र स्थानीय मुद्दा समाधानमा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइएको उनले जानकारी दिए । स्थानीय तहका पूर्व जनप्रतिनिधि, युवा अभियन्ता तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध व्यक्तिहरू पार्टीमा जोडिन थालेपछि चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने आकलन गरिएको छ ।
मनिष झाको चुनावी एजेण्डामा स्थानीय सडक स्तरोन्नति, कृषि उत्पादनको बजारीकरण, युवाका लागि सीपमूलक तालिम तथा रोजगारीका अवसर सिर्जना प्रमुख रूपमा समेटिएका छन् । साथै पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने विषयमा उनले विशेष जोड दिँदै आएका छन् । रास्वपाले अघि सारेको सुशासन र प्रणाली सुधारको नारालाई क्षेत्रीय आवश्यकताअनुसार स्थानीय विकास योजनासँग जोडेर प्रस्तुत गरिएको बताइएको छ ।
झाको अभियानमा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ भने सामाजिक सञ्जालमार्फत पनि उनको टिम सक्रिय छ । उनले युवालाई राजनीतिक प्रक्रियामा सहभागी हुन आह्वान गर्दै ‘अबको राजनीति परिणाममुखी हुनुपर्छ’ भन्ने सन्देश दिँदै आएका छन् ।
Century Times
