राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट पुस्तिका च्यातेका छन् । उनले प्रतिनिधिसभाको रोष्टममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् ।
उनले बजेटप्रति सुरुबाट नै विरोध जनाउँदै आएका थिए । मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका छन् ।
उनले भने, ‘सामान्यतयाः म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्याउने मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर यहाँ राख्छु मैले !’
उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा परेपछि नै आफूलाई रिस उठेको बताए । उनले सामान्य लाज घिन समेत नराखेर सरकारले मनपरी गरेको आरोप लगाएका छन् । उनले आफूखुसी जिल्लाको नाम समेत नराखी योजनामा बजेट राखेको बताए ।
उनले भने, ‘बजेट बनाउँदा सरकारमा भएका मन्त्रीहरूले आफूखुसी गरे ।’ आठ ९ वटा चरण पार गरेपछि योजना पास गरेको सम्झँदै अहिले बजेट मन्त्रीको गोजीबाट आउने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीलाई गोरखा दुई भए पुग्छ । मन्त्रीलाई आफ्नो ठाउँ भए पुग्छ । बाउले कमाएको सम्पत्तिमा पनि आफूखुसी गर्न पाइन्न । यो त सरकारको सम्पत्ति हो । यो निर्वाचन प्रणाली सुधार गरौँ ।’
यता, नेपाली काँग्रेसकी सांसद चन्दा चौधरीले रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको कदमको समर्थन गरेकी छन्।
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गरेर बजेट विनियोजन गरेको बताइन्। उनले आफ्नो निर्वाचन क्षेत्रका लागि मात्रै मन्त्री बनेको हो भनी प्रश्न गरिन्।
उनले लिङदेनले पीडाका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेको भन्दै उक्त कामको समर्थन गर्ने बताइन्। उनले बजेट पुस्तिका च्यात्नुपर्ने खालको रहेको उल्लेख गर्दै एकजनाले च्यातेपछि सबैले च्यातेजस्तो हुने पनि स्पष्ट पारिन्।
उनले भनिन्, ‘आफ्नो निर्वाचन क्षेत्रका लागि मात्रै मन्त्रीहरू मन्त्री बन्नुभएको हो ? के यसले देशको विकास हुन्छ? कर्णालीमा दुई लाख पुलमा। जनकपुरको वडामा चाहिँ एक करोड ७१ लाख रुपैयाँ सडक बनाउन। मधेश प्रदेशमै ८ वटा जिल्ला छ, के जनकपुर सबभन्दा पिछडिएको जिल्ला हो ? पीडा छ। संसदमा माननीय राजेन्द्र लिङ्देनले यो बुक च्यात्नुभयो। यो के राम्रो हो ? होइन। तर उहाँको पीडा छ, च्यात्नुहुन्छ। च्यातेको म समर्थन गर्छु। यो च्यात्नुपर्छ। एकजनाले च्यातेपछि सबैले च्यातेजस्तै भयो।’
उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषा जिल्लामा मात्रै बजेट केन्द्रित गरिएको बताइन्।
Century Times
