सरकारले विभिन्न ८ देशमा राजदूत सिफारिस गरेको छ। शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले भागबण्डाका आधारमा राजदूत सिफारिस गरेको हो।
जसमा एमालेका ५, जनता समाजवादी पार्टी (जसपा)का २ र माओवादी केन्द्रबाट १ जना छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नाम दिएको छैन।
सत्ताको मुख्य घटक एमालेको भागमा भारत, अमेरिका, दक्षिण कोरिया मलेसिया र साउदी अरब परेको छ।
भारतका लागि पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी, अमेरिकामा पूर्व सचिव चन्द्र घिमिरे राजदूतमा सिफारिस गरिएका छन्।
यस्तै, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, मलेसियाका लागि डा नेत्रप्रसाद तिम्सिना र साउदी अरबमा अबुसुफ्यान खान मुसलमानको नाम सिफारिस भएको कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए।
रेग्मी दोहोरिएर राजदूत सिफारिसमा परेका हुन्। यसअघि उनी बेलायतमा राजदूत हुँदा पनि एमाले कोटाबाटै परेका थिए।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपालबाट फुटेर अशोक राइले गठन गरेको जनता समाजवादी पार्टी (जसपा)बाट २ राजदूत सिफारिसमा परेका छन्। जसमा डेनमार्कका लागि सुम्निमा तुलाधर र स्पेनका लागि डा पुष्पराज राजकर्णिकार छन्।
बेलायतका लागि डा. विजन पन्तको नाम सिफारीस भएको छ। उनी माओवादी केन्द्रबाट परेका हुन्।
रास्वपाका उपसभापति समेत रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफ्नो कोटाबाट राजदूत सिफारीस हुन बाँकी रहेको जानकारी दिए।
‘एमाले, जसपा र माओवादीको भागमा परेको राजदूत आजको क्याबिनेटले सिफारिस गरेको हो,’ उनले भने, ‘हाम्रो दलबाट सिफारिस हुन बाँकी छ।’
सरकारले जेठ २४ गते विभिन्न ११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो। जसमा कांग्रेस, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको कोटामा राजदूत बनेका फिर्ता बोलाइएका थिए।
Century Times
