जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ।
मुख्यमन्त्री सिंहलाई पार्टी निदेशन विपरित काम गर्न थालेको भन्दै स्पष्टीकरण सोधिएको हो। मुख्यमन्त्री सिंहले एकलौटी निर्णय लिन थालेको भन्दै पार्टीभित्रैबाट गुनासो आएपछि स्पष्टीकरण सोधिएको हो। पछिल्लो पटक उनले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा पार्टीसँग कुनै सोधखोज गरेका थिएनन्।
गत साउन २२ गते ५ जना राज्यमन्त्री थपेका सिंहको क्याबिनेटमा अहिले २० सदस्य छन्। आफूखुसी क्याबिनेट विस्तार भएपछि पार्टीभित्रबाटै असन्तुष्टि बढेको थियो।
मुख्यमन्त्री सिंहले गत मंगलबार नेपाली कांग्रेसका दुई, नेकपा (एमाले), जनमत र लोसपाबाट एक-एक जना गरी पाँच राज्यमन्त्री थप गरेका थिए।
१२ मन्त्रालय रहेको मधेसमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र तीन राज्यमन्त्री थिए। यहाँ कांग्रेसले चार, एमालेले चार, जनमतले मुख्यमन्त्रीसहित ३, लोसपाले एक मन्त्रालय लिएका थिए। यिनै दलहरूबाट राज्यमन्त्रीहरू पनि नियुक्त गरिएको थियो।
मधेसमा सिके राउत नेतृत्वको जनमत पार्टी नेतृत्वमा सरकार छ। यो सरकारलाई नेपाली कांग्रेस, नेकपा (एमाले) र लोसपाले समर्थन गर्दै सरकारमा सहभागी छन्।
Century Times
