Century Times

अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको पहिचान खुलाइयो

अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको पहिचान खुलाइयो

अमेरिकाको टेक्सास राज्यस्थित ह्युष्टनमा नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको परिचय खुलाइएको छ । हस्टन प्रहरीले बिहीबार पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका ती व्यक्तिको पहिचान खुलाएको हो ।

पक्राउ परेका ५१ वर्षीय व्यक्ति बबी सिंह शाह भएको खुलेको छ । उनलाई सीसीटीभीमा देखिएको तस्बिरका आधारमा प्रहरीले पक्राउ गरेको थियो । बुधबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएको प्रत्यक्षदर्शीको सूचनाको आधारमा प्रहरीले बबी सिंहलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध जघन्य हत्याको अभियोग लगाइएको छ । जघन्य हत्याको अभियोग टेक्सासमा हत्याको सबैभन्दा गम्भीर रूप हो, जसमा मृत्युदण्डसम्म हुनसक्ने कानुनी व्यवस्था छ । बबी सिंह शाहले लुटपाटका क्रममा घातक हतियारको प्रयोग गरी आशययुक्त तरिकाले मुना पाण्डेको गोली हानी हत्या गरेको अदालती कागजातमा उल्लेख गरिएको छ । अभियुक्त ५१ वर्षीय शाहविरुद्ध २६२ औं स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्याको अभियोग दायर गरिएको हो ।

सेप्टेम्बर ३ मंगलबार बबी सिंहलाई अदालतमा पेश गरिने भएको छ । उनी विरुद्ध गैर कानुनी रुपमा हतियार बोकेको अर्को अभियोग पनि लगाइएको छ । गैरकानुनी रुपमा गाडीमा हतियार बोकेको र हतियार कभरले नछोपी देखिने गरी राखेको उक्त अभियोगमा बबी सिंहलाई सेप्टेम्बर ५ बिहीबार अदालतमा पेश गरिने भएको छ । शाहलाई ह्यारिस काउन्टी जेलमा राखिएको छ ।

मुना पाण्डे सोमबार साँझ गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा फेला पारेको थियो । उनी परिवारमा एकमात्र सन्तान हुन् ।

उनको शनिबारदेखि नै फोन अफ रहेकाले घटना शनिबार नै भएको हुनसक्ने आशंका गरिएको छ । तर घटना कहिले र कसरी भएको हो भन्नेबारे अझै पुष्ट विवरण प्राप्त भएको छैन । घटनाको उद्देश्य के थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »