Century Times

जनकपुरमा पैसा तिरेर यसरी बने वंशज नेपाली नागरिक !

जनकपुरमा पैसा तिरेर यसरी बने वंशज नेपाली नागरिक !

– घनश्याम मिश्र

धनुषा, १० साउन । एक भारतीय नागरिकले पैसाकाे चलखेलमा वंशज नागरिकता बनाउन सफल भएका छन् । जनकपुरमा एक परिवार छन्, जो मूलतः भारतीय नागरिक नै हुन् । तर परिवारका एक सदस्यले धनुषाबाट पैसाकै बलमा वंशज नागरिकता प्राप्त गरेका छन् । नागरिकता पाउने व्यक्तिको बुवा भने भारतीय नागरिक रहेका छन् । तर  छोरा भने नेपाली नागरिक, त्याे पनि  वंशजका अाधारमा ।

भारतको सीतामढी जिल्ला बस्ने एकजना भारतीय नागरिकले पैसा खर्च गरेर वंशज नागरिकता बनाएको रहस्य बाहिरिएको हाे । सीतामढीस्थित कुम्माका स्थायी वासिन्दा रोशनकुमार ठाकुरले धनुषाबाट वंशजका आधारमा नागरिकता बनाएका हुन् ।

बाबु त्रिवेणी ठाकुरसँग नेपाली नागरिकता नरहे पनि छोरो रोशनसँग भने नेपाली वंशज नागरिकता रहेको छ । रोशनले ४० हजार खर्चेर जिल्ला प्रशासन कार्यालयका कर्मचारीको सहयोगमा वंशज नागरिकता बनाएको उनका आफ्नै भाइ रमेश ठाकुरले दाबी गरेका छन् ।

रोशनले दुई वर्षपहिले पैसा खर्चेर नेपाली नागरिकता बनाएको रमेशले बताएका छन् । बाबुसँग नेपाली नागरिकताकाे प्रमाण-पत्र नरहे पनि दाइ रोशनले वंशज नागरिकता बनाएको रमेशको भनाइ छ ।

रोशनसँग रहेको नेपाली नागरिकता प्रमाण-पत्र जिल्ला प्रशासन कार्यालय धनुषाबाट जारी भएको छ । भाइ रमेशका अनुसार साढे दुई वर्षअघि मात्र नागरिकता प्रमाण-पत्र बनाए पनि जारी मिति भने २०६४/३/६ भनिएको छ । अर्थात् करिब १० वर्षअघि नै जारी गरिएकाे देखाइएकाे छ ।

प्रशासकीय अधिकृत विनोदकुमार दहालको हस्ताक्षर भनिएको नागरिकता प्रमाणपत्रमा त्रिवेणी ठाकुरका छोरा रोशनलाई जनकपुर- ४ का स्थायी वासिन्दा भनिएको छ ।

रमेश बाबु त्रिवेणीको भारतीय पहिचान-पत्र देखाउँदै प्रश्न गर्छन्, ‘बाबुले नेपाली नागरिकता नपाइकन छोराले कसरी वंशजको नागरिकता पाउन सक्दछ  ?  यदि रोशनले लिएको नागरिकता फर्जी होइन भने बाबुको नागरिकता देखाइदिनु प-यो ।’

परिवारसँगै जनकपुरमा बस्दै आइरहेका रोशन र रमेशराज मिस्त्रीको काम गर्दै आइरहेका छन् । लामो समयदेखि जनकपुरमा बस्दै आइरहे पनि बाबुले नागरिकता लिनतर्फ कहिल्यै चासो नदेखाएको रमेशको भनाइ छ ।

‘बाबु साधु हुनुहुन्छ, उहाँले नागरिकता लिनेबारे कहिल्यै चासो देखाउनुभएन्,’ रमेश भन्छन्, ‘दाइले ४० हजार खर्चेर नागरिकता बनाउन लागेको कुरा गरेका थिए । तर, बाबुले चासो देखाउनु भएन ।’

बाबुकै नागरिकता नरहेपछि छोराले बनाएको नागरिकता स्वतः फर्जी हुने रमेशको दाबी छ । रोशनले सोही नागरिकताको आधारमा मोटरसाइकलसमेत खरिद गरेको उनको भनाइ छ ।

अनुसन्धान छैन 

२०७५ मंसिरमा धनुषा प्रहरीले जनकपुरबाट नक्कली नागरिकता बनाउन गिरोहलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय धनुषाका ४ जना कर्मचारीसमेत थिए । उनीहरु सबैजना अहिले का-रागारमा छन् ।

प्रहरीले नक्कली नागरिकता बनाउने गिरोहलाई पक्राउ गरे पनि उनीहरुले क–कसलाई नागरिकता बाँडे यसको अनुसन्धान अझै हुनसकेको छैन ।

रोशनसँग रहेको वंशज नागरिकतापनि सोही गिरोहले तयार पारेको हुनसक्ने धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आशंका व्यक्त गरेका छन् ।

‘बाबु भारतीय नागरिक भएपछि छोरोले नेपाली नागरिकता पाउने कुरा नै भएन,’ प्रमुख जिल्ला अधिकारी निरौला भन्छन्, ‘अहिले देखिएको यो नागरिकता पनि पहिला नै पक्राउ परेका मानिसहरुले तयार पारेको हुन सक्दछ ।’

नागरिकता प्रमाणपत्रमा प्रशासकीय अधिकृतको हस्ताक्षर नक्कली रहेको उनले बताए । नक्कली नागरिकता लिने र दिने जाेसुकै भए पनि कारबाहीको दायरामा आउने प्रमुख जिल्ला अधिकारी निरौलाले बताएका छन् ।

उनले आफूसँग अहिले नक्कली नागरिकतासम्बन्धी १८ वटा उजुरी आएको र सबैको अनुसन्धान भइरहेको जानकारी दिएका छन् । ‘गैर नेपाली नागरिकले कुनै पनि हालतमा नेपाली नागरिकता पाउन सक्दैन्,’ उनले भने, ‘हामीसँग आएका उजुरीका साथै अहिले देखिएको वंशज नागरिकताबारे समेत तत्काल छानबिन सुरु भएर लिने र दिने दुबैलाई कारबाही हुन्छ ।’

गत वर्ष पनि गिरोह पक्राउ

गत वर्षमा धनुषा जिल्लाको नक्कली नागरिकता बनाउने गिरोह नै समातिएको थियो । पक्राउ परेकाहरु अझै कारागारमा छन् । त्यतिबेला पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल तथा कार्यालय सहयोगीद्वय अरुणकुमार यादव र वीरेन्द्र चौधरी रहेका थिए ।

त्यसअघि नै जिल्ला प्रशासन कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत ४२ वर्षीय महावीर मण्डलसहित धनुषाको जनकपुर उपमहानगरपालिका– २० का ३१ वर्षीय रोशनकुमार चौधरी, धनुषाको औरही गाउँपालिका–५ का ४९ वर्षीया गंगा साह र रौतहटको दुर्गा भगवती गाउँपालिका–४ का हेमन्तकुमार पाण्डेलाई पक्राउ गरिएको थियो । यसअघि पक्राउ परेकी साह औरही गाउँपालिकाका वडा सदस्य हुन् । अन्य सो गाउँपालिकाका कर्मचारी हुन् ।

छानबिन सुस्त

जिल्ला प्रशाशन कार्यालय धनुषाले नक्कली नागरिकताधारीलाई कानूनको दायरामा ल्याउन देखाउनुपर्ने तदारुकता नदेखाएको स्थानीय सुरेन्द्र रायले न्यूज़ २४ लाई बताएका छन् । कार्यालयमा व्यक्तिले बनाएको नक्कली नागरिकता सहित लिखित निवेदन नै दिएको महिनाैँ बितिसक्दा पनि प्रमुख जिल्ला अधिकारी वा जिल्ला प्रहरी कार्यालय धनुषाले ध्यान नदिएको नाम नबताउने सर्तमा एक स्थानीयले न्यूज़ २४ लाई जानकारी दिए ।

यसअघिका प्रजिअ प्रदीप कनेलको समयमा नै सप्रमाण नक्कली नागरिकताधारीको बारेमा उजुरी दिएको तर हालसम्म कुनै कारवाही नहुनु दुःखद रहेको गुनासाे उठ्न थालेको हो । अहिले पनि झन्डै १८ जना व्यक्तिउपर उजुरी परेको छ । तर छानबिन सुस्त पाइएको छ ।

स्रोत: News24Television

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »