Century Times

त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कमजोर रहेको सरकारी निष्कर्ष

त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कमजोर रहेको सरकारी निष्कर्ष

काठमाडौं । सरकारले गठन गरेको छानबिन समितिले संवेदनशीलताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था मजबुत नरहेको औल्याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको जहाजमा पासपोर्ट र भिसा नभएको एक व्यक्ति पुगेपछि सरकारले छानबिन समिति गठन गरेको थियो । समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई आफ्नो प्रतिवेदन बुझाउँदै विमानस्थलको सुरक्षा व्यवस्था थप सुदृढ गर्न सुझाव दिएको छ ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई संयोजक रहेको समितिले विमानस्थलको बाहिरी र भित्री दुवैतर्फको सुरक्षा व्यवस्था थप मजबुत बनाउनुपर्ने राय दिएको हो ।

बाहिरी घेराको सुरक्षा व्यवस्थामा भएको कमजोरीले नै संवेदनशील क्षेत्रसम्म अनधिकृत व्यक्ति पटक–पटक पुगेको निष्कर्ष निकाल्दै समितिले विमानस्थललाई घेरिएको तारबारसहितका सुरक्षा पूर्वाधारलाई मजबुत र चुस्त राख्न सुझाव दिएको छ ।

‘अहिले विमानस्थलको सुरक्षाका लागि लगाइएको फलामे तारबार विमानस्थलको सुरक्षाका हिसाबले चुस्त अवस्थाम छैनन्, समय–समयमा मर्मत सम्भार नभएको दखिन्छ,’ समितिका एक सदस्यले भने,‘अब त्यसलाई गम्भीर रुपमा लिएर नियमित मर्मत सम्भारको गर्नुपर्छ ।’ विमानस्थल क्षेत्रको झाडी फाँडेर नियमत सफाइ गर्नुपर्नेसहितका सुझाव प्रतिवेदनमा समेटिएका छन् ।

यो पनि पढ्नुहोसजहाजमा अनधिकृत व्यक्ति चढेको घटनामा नेवानिका सुरक्षा कमान्डर निलम्बित

विमानस्थलको घेराबारा नाघेरै ९ फागुनमा राति हवाइजहाजको टिकट र भिसा नभएका व्यक्ति विमानस्थलभित्र जहाजसम्म पुगेको समितिको निष्कर्ष छ । विमानस्थलको पेरिफेरिमा नियमित सुरक्षा गर्नु पर्ने र हवाई मापदण्डअनुसारको सुरक्षासम्बद्ध पूर्वाधार बनाइनुपर्ने सुझाव समितिले दिएको छ ।

समिति स्रोतका अनुसार रातमा विमानस्थल वरपर जथाभावी बत्ती बाल्न नपाइने, अग्ला सुरक्षा पोस्ट खडा गर्न नपाइने जस्ता मापदण्डका कारण पनि समस्या भएको देखिएको छ । तर, प्राविधिक रुपमा सम्भव भएसम्म सुरक्षा पोस्ट र गस्ती बढाएर निगरानी बढाउनुपर्ने समितिको निष्कर्ष छ । प्रविधिको प्रयोग गरेर सुरक्षा व्यवस्थालाई कडा गर्न निरन्तर निगरानी गर्ने व्यवस्था गर्न समितिको सुझाव छ ।

समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने बताएका थिए । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको तालमेल हुन्छ । तसर्थ कार्यान्वयनका लागि पनि सबै निकायको तालमेल चाहिन्छ,’ गृहमन्त्री खाँणले भनेका छन्, ‘सबैसँगको तालमेलमा रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढ्छ ।’

उनले विमानस्थलभित्र नागरिक छिरेर जहाजमै पुग्नु संवेदनशील भएको भन्दै त्यो घटना कसरी भएको हो ? कसको कमजोरीले भएको हो ? पर्यटन, अर्थसहितको सल्लाहमा दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए ।

अब अझै पर्यटकको आगमन बढ्ने भन्दै गृहमन्त्री खाँणले जति आगमन बढ्यो, त्यति सुरक्षा संवेदनशीलता बढ्ने भन्दै सचेत रहन सम्बन्धित निकाय चनाखो रहनुपर्ने बताए ।यो पनि पढ्नुहोसअन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा गम्भीर लापरबाही, कमजोरीबारे बल्ल अध्ययन

प्रतिवेदन बुझाउँदै अध्यागमन विभागका महानिर्देशक तथा समितिका संयोजक भट्टराईले आफूहरूले प्रहरी प्रतिवेदन, अभियुक्तलाई विमानस्थलमै पुर्‍याएर लिएको जानकारी तथा सीसीटीभी फुटेजका आधारमा प्रतिवेदन तयार पारिएको जानकारी दिए ।

समितिमा महासेनानी अनुप अधिकारी, प्रहरी उपरीक्षक बेद विष्ट, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, उप–अनुसन्धान निर्देशक विष्णमणि आचार्य, हवाई सुरक्षा निर्देशक बासुदेव भट्टराई, नेपाल वायुसेवा निगमका निर्देशक अनिल घिमिरे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल तथा गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ सदस्य छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »