Century Times

नेपालमा पहिलो पटक नानो युरिया झोल मल प्रयोगमा अनुमति

नेपालमा पहिलो पटक नानो युरिया झोल मल प्रयोगमा अनुमति

काठमाडौं । सरकारले पहिलो पटक नेपालमा नानो युरिया झोल मल प्रयोग गर्न अनुमति दिएको छ ।

रासायनिक मलको चरम अभाव झेलिरहेको किसानहरुलाई राहत पुग्ने गरी नानो युरिया झोल मल प्रयोगका लागि अनुमति दिइएको कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बताए ।

‘दाना युरिया मल भन्दा बढी प्रभावकारी र सस्तोमा उपलब्ध हुने यस्तो मल अब सरकारी तथा निजी कम्पनीले आयात गरेर बिक्री गर्न पाउने गरी अनुमति दिइएको छ,’ मन्त्री यादवले भने, ‘मल अभाव झेलिरहेका किसानका लागि यो मल निकै प्रभावकारी छ ।’

झोलमा उपलब्ध हुने यस्तो मल कृषि अनुसन्धान परिषद् नार्कले गरेको परीक्षणमा निकै प्रभावकारी देखिएको मन्त्री यादवले बताए । नार्कका वैज्ञानिकहरुले स्थानीय ज्यापु काउलीमा गरेको प्रयोगमा यस्तो मलबाट हुने कुल लागत अन्य मलबाट भन्दा प्रतिहेक्टरमा ८ हजार १५० रुपैयाँले सस्तो पाइएको छ । यस्तै उत्पादनका हिसाबले पनि झोल बढी प्रभावकारी देखिएको मन्त्रालयको दाबी छ ।

नार्कले गरेको परीक्षणमा झोल मल प्रयोगगर्दा प्रतिहेक्टर ४.६७ मेट्रिकटन बढी उत्पादन पाइएको छ । बिरुवा बढेपछि पम्प वा स्प्रेबाट साना क्षेत्रमा र ठूलो क्षेत्रमा ड्रोनबाटसमेत यस्तो मल छर्न सकिने मन्त्रालयले जनाएको छ ।

दाना युरिया मल एक बोराबराबर यस्तो आधा लिटरको एक बट्टा मललाई भारतीय रुपैयाँ २५० पर्ने भएकाले झोल मल सस्तो र समयको हिसाबले किफायती पनि रहेको मन्त्रालयको भनाइ छ । एक बोरा दाना युरिया मललाई अहिले ७५० रुपैयाँ पर्छ ।

भारत लगायतका बजारमा व्यापक प्रयोग भएको यस्तो मल आयात अनुमति माग्दै गत वर्ष नै दुई वटा कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा निवेदन दिएका थिए ।  तर कानुन अभावमा सरकारले अनुमति दिएको थिएन । नेपालमा गोप्य रुपमा केही मात्रामा यस्तो मल नेपालका चिया किसानहरुले गरेको जानकारी पाइएको तर अभिलेख भने नरहेको मन्त्रालयले जनाएको छ ।

नानो युरिया झोल मलको नयाँ अनुमतिसँगै नेपालमा मल आयात अनुमति हुने रासायनिक मलको संख्या ५३ पुगेको छ । यस्तो अनुमति सम्बन्धी कानुन राजपत्रमा प्रकाशनका लागि पठाइएको मन्त्रालयले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »