Century Times

मतदानको दिन सवारी चलाउन पाउनुपर्ने माग गर्दै उन्नत लोकतन्त्र पार्टी अदालत जाने

मतदानको दिन सवारी चलाउन पाउनुपर्ने माग गर्दै उन्नत लोकतन्त्र पार्टी अदालत जाने

मतदान गर्ने दिन देशभर सवारी साधन चलाउन निषेध गर्ने कदमविरुद्ध अदालत जाने उन्नत लोकतन्त्र पार्टीले बताएको छ । मतदानको दिन मतदाताले सवारी साधान प्रयोग गर्न निषेध गर्ने काम संविधान तथा कानुन विपरित भएकाले सो प्रणाली खारेज गर्नुपर्ने पार्टीका अध्यक्ष स्वागत नेपालले बताए ।

उनले यसविरुद्ध छिट्टै अदालतमा रिट दायर गर्ने तयारी गरेको बताए । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका दिन सवारी साधन चलाउन नदिने र सिमित संख्यामा पासका आधारमा चलाउन दिने निर्वाचन आयोगले बताएको छ । रातोपाटीसँग कुरा गर्दै अधिवक्ता समेत रहेका नेपालले भने –‘मतदान गर्ने दिन सवारी साधन बन्द गर्ने काम १ सय १ प्रतिशत अलोकतान्त्रिक काम हो । नेपालमा अहिलेपनि मतदान स्थलमा पुग्नलाई घण्टौं हिडेर पुग्नुपर्ने अवस्था छ । किमाथांकातिर, ४५ घरेतिर वडाध्यक्षले सपथ गर्न नपाउँदै अर्को चुनावको मिति आएको अवस्था पनि थियो । गाउँपालिकाको कार्यालय पुग्न ३ दिन हिडेर पुग्नुपर्ने ठाउँहरु पनि रहेका छन् ।’

उनले लोकतन्त्रको अभ्यास गर्ने दिन नै मतदातालाई सवारी साधन प्रयोग गर्न रोक लगाउने काम लोकतन्त्र बिरोधी भएको बताए । उनले भने–‘धेरै नागरिकहरु विदेशमा छन्, उनीहरुलाई मतदानको अधिकार पनि दिएन । बृद्धबृद्धाहरु, बिरामीहरु, अपाङ्गहरु मतदान केन्द्रमा पुग्न नसक्नेहरुलाई समस्या हुन्छ । कुनै काममा व्यस्त भइरहेकाहरुलाई तुरुन्तै मतदान गरेर फर्कने वातावरण नबनाएर सडक बन्द गर्ने काम लोकतन्त्रको विरुद्धमा छ ।’ उनले कुनैपनि कानुनमा निर्वाचनका बेला मतदान गर्ने दिन सडक बन्द गर्ने व्यवस्था नभएको र यो संविधान र कानुन विरुद्ध रहेको बताए । 

उनले भने–‘कानुनमा व्यवस्था नभएको कुरामा निर्देशिका बनाएर यस्तो काम गर्न पाइँदैन । कानुनमा यस्तो व्यवस्था छैन, कानुनको भावना विपरित जारी गरेको यस्तो निर्देशिकाहरु गैर कानुनी हुन्छ र यो गैर कानुनी अभ्यास हो । सरकारले शान्ति सुरक्षा गराउन सक्नुपर्छ । मतदान गर्न जानका लागि मतदाताले सवारी साधन प्रयोग गर्नु हुँदैन भन्न मिल्दैन ।’ उनले यसविरुद्धमा छिट्टै रिट लिएर जाने बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »