धनुषामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा तनाबको अवस्था सृजना भएको छ। जिल्लाको औरही गाउँपालिका-१ पौडेसरमा युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद सुरु भएको थियो।
एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा दोहोरो झडप भएको हो। धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास समेत प्रहार गरेको जानकारी दिनुभयो।
करिब १० दिनअघि यहीँ वडाका दुईजना युवती हंसपुर नगरपालिकाका दुईजना फरक समुदायका युवकसँग भागेका थिए ।
तर युवतीका आफन्त र स्थानीयले भने दुबैजना युवतीको अपहरण भएको दावी गर्दै उनीहरुको खोजतलास नगरेको भन्दै प्रहरी विरुद्ध नाराबाजी गर्दै आज विहानैदेखि प्रदर्शनमा उत्रिएका थिए ।
विहान प्रहरीले सम्झाई बुझाइ गरेपछि उनीहरुले आन्दोलन छोडेर घर फर्केको प्रहरीले जनाएको छ । तर पछि दिउँसो फेरि उनीहरु सडक अवरुद्ध गरी टायर बालेर प्रदर्शन गर्न थालेपछि प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरेको थियो । त्यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
दुईजना युवतीलाई भगाएको घटनामा प्रहरीले पाँच जनालाई थुनेर अपहण तथा शरिरबन्धक मुद्दा समेत चलाइ युवतीहरुको खोजतालास जारी रहेको डिएसपी अवाको भनाई छ । प्रहरीका अनुसार हंसपुर नगरपालिकाका दुईजना युवकसँग दुबैजना युवती प्रेमसबन्धमा थिए ।
उनीहरु आपसी सहमतीमै भागेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Century Times
