जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन्।
जसपा विभाजनपछि आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका अध्यक्ष यादवले जसपा विभाजनपछि बनेको नयाँ दल असंवैधानिक भएको बताए।
‘नयाँ दल दर्ता असंवैधानिक छ,’ यादवले भने, ‘त्यसविरुद्ध हामी अदालत जान्छौँ। कानुनी र राजनीतिक लडाई लड्छौँ।’ उनले नेताहरुको व्यक्तिगत महत्वाकांक्षाले पार्टी विभाजन हुने अवस्था आएको बताए। ‘उनीहरुको महत्वाकांक्षाले संविधान, लोकतन्त्र, पहिचानको आन्दोनल र मुद्दा धरापमा पर्ने सम्भावना बढेको छ। तर, हामी त्यसो हुन दिने छैनौँ,’ उनले भने। उनले जसपाले सरकार ढाल्न लागेको हल्ला सत्य नभएको तर्क गरे। ‘त्यो कपोलकल्पित अफवाह मात्रै हो। यति हुँदाहुँदै पनि हामी यही सरकारमै रहन्छौँ। यो सरकारलाई दिएको समर्थन फिर्ता लिँदैनौँ।
उनले अब परिस्थिति कसरी अघि बढ्छ, त्यो हेरेर कदल चालिने बताए।
‘जस्तोसुकै परिस्थितिमा पनि हामी दह्रोगरी संघीयता, गण्तन्त्र, समावेशिताको पक्षमा उभिनेछौँ, परिवर्तनको मुद्दलाई निस्तेज हुने दिनेछौँ, यादवले भने, ‘हाम्रो पार्टी कुनै पनि अवस्थमा लोकतन्त्र र सीमान्तकृत समाुदायको पक्षमा लडिरहनेछ।’ उनले पार्टी विभाजनको हल्ला चलाइए पनि पार्टीको केन्द्रीय समितिमा दुई तिहाई र कार्यकारिणी समितिमा बहुमत सदस्य आफ्नो पक्षमा रहेको दाबी गरे।
‘५/७ सांसदलाई मन्त्री बनाउने प्रलोभनमा पारेर पार्टी फुटाएको प्रचार गरियो। तर, उनीहरुसँग कुनै पनि जनाधार छैन,’ यादवले भने, ‘पार्टी अझ सुदृढ भएर जान्छ।
आफूले अमेरिका जानु अघि कार्यवाहक अध्यक्ष दिएर गएको र अहिले उनैले पार्टी फुटाएको बताए। ‘त्यस्ता अतृप्त आत्माहरु जम्मा गरेर पार्टी बन्दैन,’ उनले भने।
यादव अमेरिका भ्रमणमा रहेकैबेला गएको सोमबार नेता अशोक राईले आफूसमेत सात जना सांसदलाई साथमा लिएर जसपा विभाजन गरेका हुन्। पार्टी विभाजनपछि अब उपेन्द्र यादवको पक्षमा ५ जना मात्रै सांसद छन्। जसपा विभाजनपछि गठन भएको राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले दर्ता गरेर मान्यता दिइसकेको छ।
Century Times
