श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना ‘गरेको श्रमाधान रोजगार मेला’ मधेश प्रदेशको जनकपुरधाममा आगामी शनिबारदेखि शुरु हुने भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेश, जनकपुरधाम उपमहानगरपालिकाले संयुक्त आयोजनामा तथा नेपाल उद्योग परिसंघको सह आयोजनामा शनिबार र आइबार दुई दिन सञ्चालन हुने मेलाको श्रममन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गर्नुहुने छ ।
मेला बारेमा जानकारी दिन आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा श्रम मन्त्रालयका उपसचिव एवं मेलाका मधेस प्रदेश संयोजक दिपेन्द्र पौडेलले मेलाले श्रमिक र रोजगारदातालाई जोड्ने बताउनुभयो ।
उहाँले मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनुकूल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । “मेलाले नेपालको रोजगारी परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउनेछ । यसले राष्ट्रलाई थप समृद्धि र सफलतातर्फ लैजान सक्ने लचिलो र समावेशी जनशक्ति निर्माण गर्न सहज गर्छ ।” उहाँले भन्नुभयो ।
उहाँले मधेस प्रदेशमा हुने मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा मागहरू सङ्कलन गरिने पनि बताउनुभयो । सबै सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि समेत उहाँले आग्रह गर्नुभयो ।
श्रम तथा यातायात कार्यालय जनकपुरधामका प्रमुख धर्मराज रोकायाले मधेस प्रदेशमा हुन गइरहेको श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकहरूमा उत्साह थपिएको बताउनुभयो । मेलामा सहभागिताका लागि ३५ स्टल राखिनेछ । हालसम्म ३० भन्दा धेरै स्टल बुकिङ भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।
नेपाल उद्योग परिसंघ सिआइएनका मधेस प्रदेश संयोजक प्रमोद शाहले मेलाको उद्देश्य देशमै रोजगारी उपलब्ध गराउने रहेको बताउनुभयो । उहाँले सीपको अभावले श्रमिकले रोजगारी पाउन नसकेको बताउनुभयो ।
जेठ ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुने मेलाको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशको विराटनगरमा उद्घाटन गरी सुरु गर्नुभएको छ । मेला हरेक प्रदेशमा २ दिनसम्म चल्नेछ ।
मधेश प्रदेशको जनकपुरमा १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते, लुम्बिनी प्रदेशमा बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते, र बाग्मती प्रदेशको ललितपुरमा जेठ २९ र ३० गते मेला सञ्चालन हुनेछ ।
Century Times
