Century Times

तालाबन्दीले सेवाग्राहीलाई सास्ती

तालाबन्दीले सेवाग्राहीलाई सास्ती

जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर ५का वडाध्यक्ष बेचन साहले वडामा तालाबन्दी गरिएकाले सेवाग्राहीलाई सास्ती खेप्न परिरहेको बताएका छन् ।

वडा ५कै वडा सदस्यहरुले वडाको काम प्रभावित गर्नेगरी वडा कार्यालयमा तालाबन्दी गरेपछि सम्पूर्ण सेवा प्रभावित भएको वडाध्यक्ष साहले बताए । उनले तालाबन्दीकै कारण राष्ट्रव्यापी रुपमा चलिरहेको पोलियो बिरुद्धको आइपीभी खोप अभियान प्रभावित भएको बताए । उनले भने ‘वडा सदस्यहरुले वडाका कामलाई प्रभावित हुने गरी तालाबन्दी गरे, यसले गर्दा विकास निर्माणका काम मात्रै प्रभावित भएको छैन, बच्चाहरुलाई खोप लगाउन सकिएको छैन, खोप अभियानका लागि ल्याइएका औषधी समेत बिग्रीरहेको छ ।’

वडा नम्बर ५कै वडा सदस्यहरुले केही दिन अगाडी कार्यालयमा तालाबन्दी गरेका थिए । वडा सदस्यहरुले वडाध्यक्ष साहले मनोमानी रुपमा वडा चलाएको, महिनौ देखि वडामा ताला लगाएको आरोप लगाउँदै ताला लगाएका थिए । तर वडाध्यक्ष साहले आफ्नो कार्यकाललाई असफल बनाउनका लागि वडा सदस्यहरुले षडयन्त्रपूर्वक तालाबन्दी गरेको बताए । वडामा कुनै किसिमको अनियमितता नभएको दावी गर्दै वडाध्यक्ष साहले भने ‘आफूले भ्रष्टाचार बिरुद्धको अभिायन चलाउनकै लागि वडाध्यक्ष भएर काम गर्दै आएको छु ।’ आफूलाई बदनाम गर्न जति षडयन्त्र गरिएपनि वडामा भ्रष्टाचार वा अनियमितता हुन नदिन हरसम्भव प्रयास गर्ने दावी गरे ।

वडा सदस्यहरुले वडाध्यक्ष बेचन साह ज्येष्ठ नागरिकलाई वितरण गर्नका लागि ल्याइएका समान तथा सिलाई कटाई तालिममा व्यापक अनियमितता भएको आरोप लगाएका थिए । जबकि वडाध्यक्ष साहले नगरप्रमुख तथा उपप्रमुख र तथा वडावासीको रोहवरमा ज्येष्ठ नागरिकहरुलाई कम्बल लगायतका सामाग्री वितरण गरिएको दावी गरे । त्यस्तै वडाका दर्जनौँ महिलाले सिलाई कटाईको तालिम लिएको बताए । आफूमाथी आरोप लगाउने वडा सदस्यहरुकै श्रीमती तथा छोरीले सिलाई कटाई तालिम लिएको उनको भनाई थियो ।

वडाध्यक्ष साहले नागरिक समाजसंग छलफल गरेर मात्रै वडाका कामहरु गर्दै आएको बताए । नागरिक समाज र वडावासी आफ्नो साथमा रहेकाले वडा सदस्यहरुको गलत षडयन्त्रलाई चिरेर देखाउने उनले बताए ।

वडा नम्बर ५का वडा सचिव महेन्द्र यादवले समेत कम्बल वितरण कार्यक्रम वडावासी तथा नगर उपप्रमुखको रोहबरमा गरिएको र यसमा कुनै किसिमको अनियमितता नभएको स्पष्ट पारे । उनले तालाबन्दीका कारण वडाका काम प्रभावित हुनुका साथै सेवाग्राहीलाई रित्तो हात घर फर्किन परिरहेको बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »