मधेस प्रदेश सभा तोडफोड र सांसदमाथि लाठीचार्ज घटनामा प्रदेश मामिला समितिबाट छानबिन गर्ने सहमति भएको छ।
जनमत पार्टीका सांसदहरूको मागअनुसार सोमबार सत्ता पक्ष प्रदेश मामिला समितिबाट यस विषयमा छानबिनका लागि तयार भएको हो। सोमबारको प्रदेश सभा बैठकमा पनि जनमत पार्टीका सांसदहरूले यो विषय छानबिन समितिले हेर्नुपर्ने बताएका थिए। सप्तरीको राजबिराज कृषि विश्वविद्यालय शिलान्यासका क्रममा जनमत पार्टीका तत्कालीन मन्त्री तथा सांसद र प्रहरीबीच झडप भएको थियो।
मधेसमा जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन्। आजै बसेको प्रदेश सभाको पहिलो बैठक जनमत पार्टीका सांसदहरूको अवरोधपछि स्थगित भएको थियो। प्रदेश मामिला समितिले छानबिन गर्ने सहमतिपछि प्रदेश सभाको दोस्रो बैठक सोमबार अपराह्न सुरू भएको छ।
प्रदेश सभामा देखिएको गतिरोध अन्त्य गर्नका लागि सत्तापक्ष र विपक्षीबीच छलफल पनि भएको थियो। सो छलफलमा राजविराजको घटनासँगै गत वैशाख ४ गते जनमत पार्टीका सांसदहरुले प्रदेश सभामा गरेको तोडफोडको घटना प्रदेश मामिला समितिले छानबिन गर्ने सहमति जुटेको हो।
सभामुख रामचन्द्र मण्डलले प्रदेश मामिला समितिले यसबारे छानबिन गर्ने जानकारी गराएका छन्। यो समिति नेकपा (एकीकृत समाजवादी) का सांसद रत्नेश्वर गोइत यादवको नेतृत्वमा छ। यो समितिमा प्रतिनिधित्व नभएका दलका प्रतिनिधिलाई पनि उक्त प्रयोजनका लागि सदस्यमा राखिने सभामुखको भनाइ छ।
सोमबारदेखि मधेस प्रदेश सभाको तेस्रो अधिवेशन सुरू भएको हो। बैठकमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले बोलेका छन्।
सप्तरीको राजविराजमा गत माघ ८ गते कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा तत्कालीन शिक्षा तथा संस्कृति मन्त्रीसमेत रहेका जनमत संसदीय दलका नेता महेशप्रसाद यादव लगायतका केही सांसदहरूमाथि प्रहरीले लाठी चार्ज गरेको थियो।
उक्त घटना संसदीय समिति गठन गरी छानबिन गर्न जनमतले प्रदेश सभा बैठक अवरोध गर्दै आएको थियो। गत वैशाख ४ गते मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन लाग्दा प्रदेशसभामा तनावको स्थिती सिर्जना भएको थियो।
आफूहरूको माग सम्बोधन नभएको भन्दै जनमत पार्टीका सांसदले रोस्टमअगाडि उभिएर सरकारविरूद्ध नाराबाजी गर्दै तोडफोड गरेका थिए। त्यस क्रममा मर्यादापालकसँग जनमतका सांसदहरूको धकेलाधकेल पनि भएको थियो।
आक्रोशित भएका जनमतका सांसदहरुले माइक, प्रदेश सभाको क्यामारा लागयातका सामान तोडफोड पनि गरेका थिए।
Century Times
