मधेस प्रदेशमा जनमत पार्टीलाई समर्थन गर्न नेकपा (एकीकृत समाजवादी) पनि तयार भएको छ।
पार्टीका सम्मानित नेता झलनाथ खनालले मधेस प्रदेशमा गठबन्धनकै सरकार बन्ने बताए। ‘हामीले फागुन २३ गते नै गठबन्धनमा सामेल हुने निर्णय गरेका छौं। अर्को निर्णय गर्नुपर्ने जरूरत छैन। मधेस प्रदेशमा गठबन्धनकै सरकार बन्छ,’ उनले भने।
मुख्यमन्त्री सरोजकुमार यादवले बुधवार विश्वासको मत लिने तयारी गरेका छन्। त्यसअगावै एकीकृत समाजवादी पार्टीले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने तयारी गरेको छ।
मधेस प्रदेशसमा जसपा सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्रसहित तीन दलले लिखित सहमति गरिसकेका छन्।
यद्यपि माधव नेपाल सत्तारूढ गठबन्धनसँग असन्तुष्ट भएका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको हो।
एमाले सहितको नयाँ गठबन्धनको सरकार बनाउन एकीकृत समाजवादीको वा लोसपामध्ये एक दलको समर्थन अनिवार्य छ। १०७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक छ।
नेकपा (एमाले)का सभामुखसहित २५, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन।
Century Times
