नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई सरकारमा आउन प्रस्ताव पठाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालिरहेको बेलामा ओलीले जनमत अध्यक्ष राउतलाई उक्त प्रस्ताव पठाएका हुन् ।
मधेशमा जनमतको नेतृत्वमा सरकार बनेपछि जनमत र नाउपालाई सरकारमा भित्र्याउने प्रधानमन्त्री प्रचण्डको प्रयास छ । यही गृहकार्य चलिरहेको बेलामा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमार्फत् राउतलाई परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरेका हुन् ।
जनमत र नाउपालाई सरकारमा समावेश गराउन एमाले र माओवादीबाट एक/एक जना मन्त्री फिर्ता बोलाउने तयारी छ । यद्यपि त्यसबारे कुनै निर्णय भएको छैन ।
प्रधानमन्त्री प्रचण्डले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई पर्यटन मन्त्रालय दिने वचन दिएको बताइएको छ । त्यसका लागि माओवादीबाट मन्त्री बनेका हितबहादुर तामाङलाई फिर्ता बोलाउने तयारी छ ।
एमालेले पनि एक मन्त्री फिर्ता बोलाउनुका साथै मन्त्रालयको साटफेर गरेर जानुपर्ने विषयमा छलफल चलाएको छ । यद्यपि एमालेले कसलाई फिर्ता बोलाउने भन्ने निर्णय गरेको छैन ।
यद्यपि बजेट पारित हुनुअघि आफूहरु सरकारमा सहभागी नहुने जनमतका अध्यक्ष राउतले बताए । उनले भने, ‘हामीले बजेटपछि मात्रै कुरा गर्छौं भनेर अहिले कुरा गरेका छैनौं । बजेट पारित भएपछि मात्रै यो विषयमा ठोस रुपले कुरा गर्छौं ।’
उनले आफ्नो पार्टीलाई यही मन्त्रालय चाहिन्छ भनेर अहिलेसम्म नभनेको बताए ।
अध्यक्ष राउतले थपे, ‘मन्त्रालयकै विषयमा कुरा भएको छैन । बजारमा म आफैं जाँदैछु भन्ने चर्चा पनि छ, तर पार्टीले त्यस्तो कुनै निर्णय चाहिँ गरेका छैनौं । हामी मधेश सरकार गठनमै व्यस्त थियौं । अब बजेट पारित भएपछि मात्रै कुरा गर्छौं ।’
Century Times
