प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत डिप्लोमा तहको पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्रमा परीक्षा दिन लगाइएको छ ।
सिरहाको गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पस केन्द्रमा मंगलबार सञ्चालित परीक्षामा पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्रमा परीक्षा दिन लगाइएको हो ।
परीक्षार्थीहरू प्रश्नपत्र हातमा परेपछि धमाधम लेख्न थाले । तर, परीक्षा सकेपछि मात्र परीक्षार्थीहरुले आफूहरूलाई कृषि विज्ञानको प्रश्नपत्रमा परीक्षा दिन लगाइएको थाहा पाएका हुन् ।
यसले गर्दा विद्यार्थीहरू चिन्तामा परेका छन् ।
यस विषयमा केन्द्राध्यक्ष किशोरकुमार साहले भूलवश यस्तो हुन गएको र अब के गर्ने भन्ने विषयमा सम्बन्धित निकायसँग छलफल चलिरहेको बताएका छन् ।
यस परीक्षा केन्द्रमा जारी परीक्षामा धनगढीमाईको जनता माध्यमिक विद्यालय, गोलबजारको जय गोविन्द साह टेक्निकल इन्सिच्युट, गोलबजारकै सरस्वती माध्यमिक विद्यालयसहित ४ वटा विद्यालयका परीक्षार्थी सहभागी छन् ।
Century Times
