Century Times

डेंगु सङ्क्रमण बढ्न नदिनतर्फ सचेत रहन मन्त्रालयको आग्रह

डेंगु सङ्क्रमण बढ्न नदिनतर्फ सचेत रहन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस वर्ष डेंगु बढ्न सक्ने भएकाले सचेत रहन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै सो आग्रह गर्नुभएको हो ।   

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार यो वर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने आङ्कलन गरेकाले डेँगु फैलिन सक्ने खतरा भएकोभन्दै मन्त्रालयले सचेत गराएको छ ।  

मनसुन लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण हुने भएकाले सङ्क्रमणको सङ्ख्यामा समेत बढोत्तरी हुन सक्ने डा. बुढाथोकीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७२ जिल्लाहरूबाट १ हजार २४१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।  

पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुलको प्रयोग गर्ने र पुरै शरीर छोपिने लुगा लगाउन उहाँको सुझाव छ । 

उहाँले डेंगु सङ्क्रमण रोकथाम नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक भएकाले यस अभियानमा सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबैले आफ्नो स्थानमा समन्वय, सहजीकरण एवं सहभागिता जनाउन अनुरोध गर्नुभयो । डेंगुको बढ्दो सङ्क्रमणलाई न्यूनीकरण गर्न मन्त्रालयले सात प्रदेश तथा सबै स्थानीय तहहरूमा बर्षातको समयमा हुन सक्ने  डेंगु लगायत अन्य स्वास्थ्य विपद्का लागि द्रुत प्रतिकार्य समिति तथा टोलीलाई तयारी अवस्थामा रहन र आवश्यक भएको अवस्थामा परिचालन हुन पत्राचार गरिसकेको उहाँले जानकारी दिनुभयो । 

मन्त्रालयले सङ्घ, प्रदेश, स्थानीय तह, मातहतका निकायसँगको समन्वय, रोगको बारेमा विभिन्न सञ्चारका माध्यमहरूमा सन्देशमूलक सूचना प्रकाशन गर्नुका साथै रोगलाई नियन्त्रण गर्न योजना बनाएको उल्लेख गर्नुभयो । उहाँका अनुसार डेंगु रोग निदानका लागि चाहिने रोग निदान किट, औषधोपचार र अन्य आवश्यक सामग्री समेत तयारी अवस्थामा राखिएको छ। 

उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु डेंगुका मुख्य लक्षण हुन् । एक्कासि उच्च ज्वरो आउने, वान्तामा रगत देखापर्ने, नाक वा गिजाबाट रगत, रक्तस्राव, धेरै पेट दुखाई, श्वास प्रश्वासमा समस्या, र बेहोस हुनेजस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा परामर्श गर्न उहाँको सुझाव छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »