मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वकै सरकारले निरन्तरता पाउने भएको छ । काँग्रेस र एमाले जनमत सरकारलाई नै निरन्तरता दिन तयार भएका छन् । यी दुई दलले नयाँ सत्ता समीकरणको सहमति गरिसकेको छ ।
मधेशबाहेक बाँकी ६ प्रदेशको नेतृत्वबारे भने कांग्रेस र एमालेले निर्णय गरिसकेको छ । तर मधेश प्रदेशमा भने यी दुई मिलेर मात्रै बहुमत पुग्दैनथ्यो । मधेशमा एमालेसँग सभामुखसहित २५ र कांग्रेससँग २२ सिट छ । तर १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ । तसर्थ कुनै तेस्रो दललाई लिनुपर्ने बाध्यतामा कांग्रेस–एमाले थिए । मधेशमा जनमतको १३ सिट छ । त्यस कारण काँग्रेस र एमाले जनमत सरकारलाई निरन्तरता दिन सहमत भएको हो ।
यी तीन दल बाहेक प्रदेशसभामा जसपाको १९, नेकपा माओवादीको ९, लोकतान्त्रिक समाजवादी पार्टीको ९, एकीकृत समाजवादीसँग ७, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीसँग १–१ सिट छन् ।
एमालेसहित ६ दलको समर्थनमा २५ जेठमा मुख्यमन्त्री बनेका सतिश कुमार सिंह आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । उनलाई ती छ दलसहित काँग्रेसले पनि विश्वासको मत दिने भएको छ । कांग्रेस नेता रमेश लेखकले कांग्रेसले पनि सिंहलाई विश्वासको मत सहमति भइसकेको बताए ।