Century Times

५८४ मेनपावर व्यवसायीमाथि कारबाही

५८४ मेनपावर व्यवसायीमाथि कारबाही

वैदेशिक रोजगार विभागले ५८४ मेनपावर कम्पनीमाथि कारबाही गरेको छ । विभागमा दर्ता भएका तर, ‘वैदेशिक रोजगार ऐन, २०६४’ विपरीत काम गर्दै आएका ती मेनपावर कम्पनीलाई विभागले कारबाही गरेको हो ।

त्यसरी कारबाहीमा परेकामध्ये केहीको कारोबार रोक्का गरिएको छ भने बाँकी सबै खारेज गरिएका हुन् । ‘वैदेशिक रोजगार ऐन, २०६४’ अनुसार स्वीकृति नलिइ कामदार पठाएको, नाबालिगलाई वैदेशिक रोजगारमा पठाएको, सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएको, लिखत वा प्रतिवेदन लुकाएको तथा हेरफेर गर्ने कम्पनीहरूमाथि कारबाही गरेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।

अनुमतिबिना शाखा कार्यालय खोलेको, विज्ञापन प्रकाशन नगरेको, छनौट सूची प्रकाशन नगरेको, रकम फिर्ता गर्न वा क्षतिपूर्ति दिन इन्कार गरेका कम्पनीहरू समेत कारबाहीमा परेएको उनको भनाइ छ । यस्तै व्यक्तिगत रूपमा कामदार पठाएको, प्रवेशाज्ञा शुल्क, सेवा शुल्क तथा प्रवर्द्धन खर्च बढी लिएको, आदेश वा निर्देशन पालना नगरेको, करार विपरीत कार्य गरेका कम्पनीको खाता रोक्कादेखि इजाजत पत्र खारेज गर्नेसम्मको कारबाही भएको उनले बताए ।

यसरी खारेज भएका तथा करोबार रोक्का भएका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा पठाउने सम्बन्धी कार्य गर्न नपाउने महानिर्देशक घिमिरेको भनाइ छ । विभागमा हाल एक हजार ६०४ मेनपावर कम्पनी दर्ता भएका छन् । तीमध्ये ९८२ कम्पनीमात्रै सक्रिय रहेको विभागले जनाएको छ । केहीको नवीकरण सकिएकाले तत्कालका लागि निष्क्रिय पारिएको विभागको भनाइ छ ।

कारबाहीका क्रममा खारेज गरिएका कतिपय मेनपावर कम्पनीको नाममा समेत पैसा उठाउने, वैदेशिक रोजगारी पठाइदिने प्रलोभनमा पारेर ठगी गर्ने गरेको पाइएपछि विभागले सूची नै सार्वजनिक गरेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »